काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका १२ वटै वडाका किसानका खेतका फाँटभरी यतिबेला आलुखेतीले लोभलाग्दो हरियाली देखिएको छ । सिजनका काउली, लसुन, प्याजलगायतका तरकारी खेतका आलीमा लहलहाउँदै थिए ।
सधैँ खेतीबालीको स्याहारमा भुल्ने काभ्रेको कुन्त बेसीका किसानलाई शनिबार भने कुनै पर्व मनाए जस्तै भयो । शनिबार मूल सडक र आसपास ध्वजा–पताकाले सजिएको देखिन्थ्यो । गाउँभरीका किसान कुन्तबेसीमा ओर्लिएका थिए । गाउँमा दुईवटा खसी ढालियो र पञ्चेबाजा घन्काइयो । महिलाहरु छमछमी नाचे ।
त्यसको कारण थियो, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक डा.छु दोङयु स्थलगत अवलोकनमा आउनु । महानिर्देशक दोङयुको स्वागतका लागि कसैले हातमा सयपत्री फूलको माला बोकेका थिए त कोहीले दुबो टिपेर ल्याएका । जसोजसो किसानको खेतमा दोङयुङले पाइला राख्दै गए उनी किसानको भिडमा छोपिँदै गए ।
विश्वकै खाद्य तथा कृषि हेर्ने उच्च व्यक्तित्व गाउँमा आउनु नेपालकै लागि ठूलो कुरा थियो, मण्डनदेउपुरका किसानलाई हर्ष नहुने कुरै भएन । दोङयुले पनि स्थानीयको हर्षोल्लासमा साथ दिए । वरिपरि सुरक्षाकर्मीले घेरिए पनि त्यो घेरा हटाउँदै किसानको हातबाटै उनले माला र पुष्पगुच्छा स्विकारे ।
नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा केही समय विताएपछि किसानका बाली हेर्न दोङयुङ किसानका खेतबारीमा पसे । स्थानीय निर्मला पौडेलको बारीमा हुर्कदै गरेको आलुको बोट उखेलेर उनले उत्सुकतापूर्वक हेरे र सोधे, ‘कसको बारी हो ?’ नजिकै रहेकी निर्मला पौडेलले आफ्नो बारी भएको जानकारी हास्दै गराइन । ‘मेरो बारी हो’ ।’ दोङयुङले चासो देखाउँदै फेरि सोधे,‘बोटहरू निकै राम्रा रहेछन्,वर्षको कति कमाउनुहुन्छ ?’ जवाफमा निर्मलाले आफ्नो नयाँ बनाएको घर देखाउँदै भनिन् ‘आलु बेचेरै उ यो घर बनाएको हो ।’ दोङयुङले ठट्टाका शैलीमा हाँस्दै भने, ‘मेरो घर भन्दा ठूलो रहेछ ।’
उनले निर्मलाको पारिवारको अवस्था र संख्या सोधेपछि निर्मलाले आफ्नो परिवारको बारेमा बताउँदै गइन् । दोङयुङले निर्मलालाई नियाले र घाँटीको तिलहरी देखाउँदै भने ‘ओ हो, यति धेरै बारी, घर अनि यो घाँटीमा लगाएको सुन पनि त महँगो होला, तपाईं त धनी हुनुहुँदो रहेछ ।’ उनको प्रश्नले उपस्थितको अनुहारमा हाँसो छायो । निर्मलाले हाँस्दै जवाफमा आफ्नो परिवारको दशजना सदस्य सबै खेतबारीमा काम गर्ने जानकारी गराइन । दोङयुङको उत्सुकता अझै घटेको थिएन । उनले वार्षिक आम्दानी कति हुन्छदेखि त्यो आम्दानी परिवारको सदस्यको भागमा कति आउँछ भनेरसम्म सोधेर भ्याए । दोङयुङको अन्तिम सवाल निर्मलालाई थियो, ‘तपाईं खुसी हुनुुहुन्छ ?’ निर्मलाले भनिन् ‘खुसी छु ।’
महानिर्देशक दोङयुले गाउँका किसानको स्वास्थ्य रक्षार्थ सुरु गरिएको विषादी छर्ने ड्रोनको उद्घाटन र बिरुवामा कुन रोग लागेको छ भनेर तत्काल पत्ता लगाउन सक्ने एप्सको अनावरण गरे । मण्डनदेउपुराका किसानले कसरी खेती गर्छन्, कस्ता खेती लगाउँछन् र कसरी बजारसम्म पुर्याउँछन् भन्ने बारेमा दोङयुले निकै चासो दिएर सोधीखोजी गरे ।
एकीकृत शत्रुजीवी कार्यक्रम(आइपीएम) सञ्चालन गरेर अहिले गाउँ बिस्तारै अर्ग्यानिक प्रविधितिर अघि बढेको,गाउँमा गरिबी निवारणमा मद्दत पुगेको तथा वातावरण संरक्षणमा कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबाले बताए ।
नगरपालिकाका ७५ प्रतिशत किसान रहेको बताएका वाइबाले किसानको अधिकांश उत्पादन प्रयोग हुनेगरी नगरकोटलाई कृषि पर्यटनमार्फत विश्वमा चिनाउने प्रयासमा नगरपालिका लागेको जानकारी दिए ।आफ्नो नगरका किसानले धेरै दुग्धजन्य वस्तुको उत्पादन गरेको बताएका उनले त्यसको व्यवस्थित बजारीकरणका लागि संघ सरकारसँग आग्रह गरे ।उनले हाल १२ वडासम्म सञ्चालित जैविक प्रणालीलाई नगरभरी फैलाउने प्रतिबद्धता गर्दै गरिब किसानलाई साझेदारीमा आधारित सहयोग गर्न नगरपालिकाले पहल गरेको बताए ।
‘नगरपालिका साझेदारीमा आधारित रही कृषकहरुलाई कृषियन्त्र र उपकरणहरु वितरण गर्ने कार्यतर्फ लागिरहेको छ । कृषि यन्त्र र उपकरणहरु खरिद गर्न नसक्ने तथा कम खेतीयोग्य जमिन भएका किसानका लागि ‘कस्टम हायरिङ’ एउटा विकल्प हुन सक्दछ,’ नगरप्रमुख वाईबाले भने ।
औपचारिक कार्यक्रममा महानिर्देशक दोङयुले नेपालका किसानलाई आवश्यक सहयोग गर्न सङ्गठन तयार रहेको र छिट्टै धेरै खालका प्रविधि तथा अनुदानमूलक सहयोग दिलाउने बताए । स्थानीय कृषकले आइपीएम कार्यक्रम राम्रो र उत्पादनमूलक रहेको उल्लेख गर्दै त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया