चीन भ्रमणपछि माल्दिभ्सका राष्ट्रपतिले भारतलाई भने– ‘आफ्ना सेना फिर्ता लैजाऊ’

लोकपथ
0
Shares

काठमाडौं । चीनबाट फर्किएलगत्तै माल्दिभ्सका राष्ट्रपति डा.मोहम्मद मुइज्जुले मार्च १५ अघि भारतीय सेना फिर्ता बोलाउन भारतलाई आग्रह गरेका छन् ।भारतविरोधी छविकै कारण चुनाव जितेका उनले बेइजिङबाट फर्किएपछि भने सानो देश भएपनि आफूहरुलाई कसैले डराउन नसक्ने टिप्पणी गरे ।

माल्दिभ्सस्थित भारतीय उच्च आयोगका अधिकारीहरू र मालेमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच भएको भेटपछि उनको सो टिप्पणी आएको हो ।माल्दिभ्सको राष्ट्रपति कार्यालयका नीति निर्देशक अब्दुल्ला नाजिमले राष्ट्रपति मुइज्जुले माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्ने प्रस्ताव राखेका बताए ।

‘बैठकमा राष्ट्रपतिले मार्च १५ अघि भारतीय सेना फिर्ता गर्ने प्रस्ताव राखेका थिए । सरकार, राष्ट्रपति कार्यालय र राष्ट्रपतिले बैठकको एजेन्डाका लागि यो मिति प्रस्ताव गरेका छन् । अहिले छलफल भइरहेको छ,’ नाजिमलाई उद्धृत गर्दै अहाधु पत्रिकाले लेखेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार नाजिमले भारतीय सेनाहरू माल्दिभ्समा बस्न सक्दैनन् र जनताहरूले पनि यही चाहेको उल्लेख गरेका छन् ।
मुइज्जुको पार्टीको मुख्य अभियान माल्दिभ्सबाट भारतीय सेना हटाउनु थियो । हाल, माल्दिभ्समा डोर्नियर २२८ समुद्री गस्ती विमान र दुई हेलिकप्टरको साथ लगभग ७० भारतीय सेना तैनाथ छन् । कार्यभार सम्हालेको दोस्रो दिन मुइज्जुले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्न भारत सरकारलाई आधिकारिक रूपमा अनुरोध गरेका थिए । गत वर्षको डिसेम्बरमा राष्ट्रपति मुइज्जुले भारत सरकारसँगको वार्तापछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको दाबी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?