काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ ।
भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ ‘मे १ देखि’ काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ ।
यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिए । आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाडौँ–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।
यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।
‘व्यवसायिकतासँगै यात्रुको सहजताका लागि दुबै ‘वाइड बडी’ जहाजबाटै दिल्ली उडान गर्दैछौ, ‘वाइड बडी’ उड्दा २ सय ७४ यात्रु र समान आउने जाने हुन्छ, जुन ‘न्यारो बडी’’ १ सय ५८ सिट क्षमताको दोबर यात्रु एउटै ‘वाइड बडी’ले बोक्ने भएकाले सबै उडान ‘वाइड बडी’ मार्फत नै गर्न लागेका हौँ,’ सहायक प्रवक्ता कोइरालाले भने ।
निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान भर्दै आएको छ भने अन्य आठ मुलुकमा पनि अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया