विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिकाको एउटा गाउँलाई इको भिलेज (वातावरणमैत्री गाउँ) बनाउने भएको छ । धनपालनान गाउँपालिका– ३ र ४ मा पर्ने वेतौना गाउँलाई ‘इको भिलेज’ बनाइने भएको हो ।
बेतौनामा दुई सय घर छन् । त्यहाँका बासिन्दाको पेशा परम्परागत कृषि हो । दुई सय परिवारको आर्थिक हैसियत दुई वर्षमा सुधार गर्ने उद्देश्यले लघुवित्तले इको भिलेज निर्माणको काम सुरु गरेको हो ।
स्थानीयको आर्थिक हैसियत उकास्न लागि पाँच वटा सूचकमा काम थालिएको लघुवित्तका नायब कार्यकारी अधिकृत दामोदर रेग्मीले बताए । उनका अनुसार आर्थिक, प्राविधिक, सीप विकास, बजारीकरण र वातावरण संरक्षणका लागि लघुवित्तले काम गर्नेछ ।
उनका अनुसार गाउँका बासिन्दाका लागि पशुपालन र तरकारी खेती गर्न सहुलियत व्याजमा संस्थाले ऋण उपलब्ध गराउनेछ । किसानले पालेका पशुको बिमा र उपचारमा संस्थाले सहयोग गर्नेछ । खेतीका लागि किसानको सीप विकासमा काम गर्नेछ । किसानले उत्पादन गरेको दूध र कृषि उपजको बजारीकरणमा संस्थाले सहजीकरण गरिदिनेछ ।
समाजले धनपालथानमै प्राङ्गारिक मल र बायोग्यास उद्योग स्थापना गरेको छ । करिब १० करोड लागतमा स्थापित उद्योगले गाउँका किसानबाट गोबर खरिद गर्ने योजना बनाएको छ । गाउँमा कच्चा पदार्थ नभेटेका कारण उद्योगले विराटनगर र आसपासका क्षेत्रबाट गोबरलगायतको कच्चा पदार्थ संकलन गरिरहेको छ ।
वातावरण संरक्षणका लागि संस्थाले स्थानीयलाई धुवाँरहित विद्युतीय चुल्हो प्रयोगका लागि प्रोत्साहन गर्नेछ । कृषि र पशु पालनको आम्दानीले किसानको जीवनस्तर उकास्ने रेग्मीले बताए । ‘पशु पालनका लागि सहुलियत ऋण दिने र दूध र गोबर बिक्रीबाट किसानले आम्दानी गर्छन,’ उनले भने, ‘आम्दानी बढेपछि जीवनस्तरमा सुधार आउनेछ ।’
स्थानीय किसानसँग छलफलका क्रममा जीवन विकासका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले दुई वर्ष भित्र वातावरण मैत्री नमुना गाउँ बन्ने बताए । वेतौनापछि धनपालनाथ गाउँपालिका र मोरङ क्षेत्र नम्बर ५ लाई नै नमुना बनाउने योजना रहेको उनले बताए ।
मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ का सांसद गयानन्द मण्डलले किसानको जीवनस्तर उकास्ने इको भिलेजको योजना कार्यान्वयनका लागि गाउँका नागरिक अग्रसर हुनुपर्ने बताए । सहुलियत ऋण र बजारीकरणको जिम्मा संस्थाले नै लिने भएकाले किसानलाई फाइदा पुग्ने उनले बताए । धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले जीवन विकासले अघि सारेको इको भिलेजको योजनामा पालिकाले सहकार्य गर्ने बताए । कृषि र पशु पालक किसानका लागि प्राविधिकसँगै अन्य सहयोग गर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया