सफट टेनिसमा तीन स्वर्ण पदकको टुंगो

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ११ औँ राष्ट्रिय सफट टेनिसमा ३ स्वर्ण पदकको टुंगो लागेको छ । 

आइतवार भएको पुरुष युगलको फाईनलमा प्रहरीका कमल भण्डारी र नौ बहादुर लुगेलीको जोडीले प्रदेश नं १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन । खेलमा प्रदेश नं. १ का युकेश योन्जन र आशिष बोहराको जोडी रजतमा चित्त बुझाएका छन ।

प्रदेश नं. ३ का प्रदिप खत्री र वृजेश पाण्डे तथा प्रदेश नं. ५ का सुभम खनाल र सुरज चौधरीको जोडी तेस्रो हुँदै कास्य पदक जितेका छन । 

यसैगरि महिला युगलतर्फको खेलमा प्रदेश नं. १ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन । थापा र राईको जोडीले प्रदेश नं. ५ का आश्मा भुषाल र रितिका चौधरीको जोडीलाई फाईनलमा ५–० को सेटमा पराजित गर्दै स्वर्ण आफनो नाममा पारे ।

यो सँगै प्रदेश नं. ५ का आश्मा भुषाल र रितिका चौधरी रजत पदकमा चित्त बुझाए । प्रदेश नं. १ का श्रीया योन्जन र जर्जिया चौधरीको जोडी तथा प्रदेश नं. ४ का प्रिति बराल र सृष्टिका उदासको जोडी तृतिय हुँदै कास्य पदकमा चित्त बुझाएका छन ।

यसैगरि मिश्रित युगलतर्फको खेलमा प्रदेश नं. ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले स्वर्ण पदक हात पारेका छन । राई र स्थापितको जोडीले फाईनलमा प्रदेश नं. १ का युकेश योन्जन र जर्जिया चौधरीको जोडीलाई टाईबेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जितेका हुन ।

युकेश योन्जन र जर्जिया चौधरीको जोडी रजत पदकमा चित्त बुझाए । आशिष बोहरा र श्रीया योन्जनको जोडी तथा सुरज चौधरी र रितिका चौधरीको जोडी तृतिय हुँदै कास्य पदक पाएका छन ।

यता रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिमहरु नेपाल पुलिस क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब अन्तिम चारमा प्रवेश गरेका छन् ।

आइतवार भएको अन्तिम दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमाञ्चलसँग बराबरी खेल्दै अंक बाडयो भने नेपाल पुलिसले दोस्रो खेलमा कर्णालीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । योसँगै समुहबाट सुदुरपश्चिमाञ्चल, कर्णाली र प्रदेश २ बाहिरिएका छन् । 

देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलको १५ औ मिनेटमा त्रिभुवन आर्मीले पेनाल्टीमार्फत खाता खोल्दै खेलमा अग्रता लिएको थियो । गोलको राम्रो अवसरसहित अगाडी बढेका आर्मीका भरत खवासलाई सुदुरपश्चिमाञ्चलका भागिरथ चौधरीले डिबक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो ।

पहिलो हाफ अग्रता लिएको आर्मीले अग्रतालाई कायम राख्न सकेन । खेलको ६७ औँ मिनेटमा प्रभुराज जोशीले बराबरी गोल गरेका थिए । 

त्यस्तै आइतवार नै भएको दोस्रो खेलमा क्वालिफाई भएको नेपाल पुलिस क्लबले युवा टिमलाई अवसर दिएको थियो । पुलिसका हरि कठायतले गोल गरे । कर्णालीका खगेन्द्र खत्रीले पाच मिनेटमा नै गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । खेलको ६८ औ मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले विजयी गोल गरेका थिए ।

अजित भण्डारीले गरेको कर्नर प्रहारलाई सुवेदीले हेडमार्फत गोल गरेका थिए । सेमीफाईनलका खेलहरु नेपालगंज रंगशालामा हुने छ ।

त्यस्तै बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ र ५ नम्बर प्रदेश सेमिफाइनलमा पुगेका छन् । एपीएफले ३ नम्बर प्रदेशलाई पराजित गरेपछि यी दुई टीम सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

तीन खेलमा शतप्रतिशत नतिजा निकालेको ५ नम्बर प्रदेश एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । आइतवार आशिष लामाको ह्याट्रिकसहित एपीएफले ३ नम्बर प्रदेशलाई ४–० गोलले पराजित ग-यो ।

१४, ६३ र ७० मिनेटमा गोल गर्दै लामाले ह्याट्रिक पूरा गरेका थिए । सुदीप सिम्राकारले २४ मिनेटमा एक गोल गरे । चारमध्ये तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा पुगेको हो । एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको ५ नम्बर प्रदेश र एपीएफमध्ये को चाहि गु्रप फस्ट हुन्छ भन्ने कुरा ५ नम्बर प्रदेशको अन्तिम खेलमा निर्भर रहेको छ । ५ नम्बर प्रदेशले अन्तिम खेल ३ नम्बर प्रदेशसँग खेल्दैछ ।

३ नम्बर प्रदेशसँग जीत या बराबरी गर्दा नै ५ नम्बर प्रदेश गु्रप फस्ट हुने ५ नम्बर प्रदेशका प्रशिक्षक सानु तामाङले बताए । एक जीत, एक बराबरी खेलेको ३ नम्बर प्रदेश एपीएफसँग पराजय भएसँगै सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

दोस्रो खेलमा गण्डकी प्रदेशले १ नम्बर प्रदेशलाई पराजित गरेको छ । गण्डकीले १ नम्बरलाई ४–० गोलले पराजित गरेको हो । गण्डकीबाट टीकाराज गुरुङले ६ र २१ मिनेट, त्रिदेव गुरुङले ४ मिनेट र विजय श्रेष्ठले २५ मिनेटमा गोल गरेका थिए । खेलमा गण्डकीका टीकाराज गुरुङले ६६ मिनेटमा रेडकार्ड पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?