सातौं नीफमा ४० देशका ८८ फिल्म

लोकपथ
70
Shares

काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) का लागि यो वर्ष ४० देशका ८८ फिल्म छनोट भएका छन् । आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौं हुने महोत्सवको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान छ ।प्रतिष्ठानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट फिल्मलाई महोत्सवमा प्रदर्शन गरिने जनाएको छ ।

प्रतिष्ठान तथा महोत्सवका अध्यक्ष केपी पाठकले यसपटकको महोत्सवका लागि ६० देशबाट ५ सय बढी फिल्म प्राप्त भएको बताए । ‘यीमध्ये हामीले ४० देशका ८८ फिल्ममात्र छनोट गर्न सक्यौं । छानिएका फिल्महरु कान्स, लोकार्नो, बर्लिनजस्ता प्रतिष्ठित फिल्ममा प्रदर्शन भइसकेका छन्,’ उनले भने ।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरी दुवै भागमा फिचर फिल्म, सर्ट फिल्म र वृत्तचित्र विधामा अवार्ड प्रदान गरिने उनले बताए । यस वर्ष छनोट भएका फिल्महरु क्युएफएक्स चेनअन्तर्गत सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन गरिने भएको छ ।

अध्यक्ष पाठकले यस वर्षबाट निफले एकै समयमा अन्य प्रदेशहरुमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरेको बताए । ‘प्रदेशमा हुने फेस्टिभलमा महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका फिल्म प्रदर्शन हुनेछन्,’ उनले भने ।महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिको ‘गौतमबुद्ध अवार्ड,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ(आइएफएफएस) डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।

त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेष्ट अवार्ड’ र सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलर राशिको ‘वाग्मती अवार्ड’ प्रदान गरिनेछ ।यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी, सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी, फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

अध्यक्ष पाठकका अनुसार यो वर्षदेखि दर्शकको रुचि, बानी र सुझावको तथ्यांक संकलन गर्न देशभरबाट अनलाइन भोटिङ र सर्भेबाट प्राप्त मतका आधारमा ‘अडियन्स च्वाइस अवार्ड’ प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?