दिल्ली ‘आइपीएल’ क्रिकेटको शीर्ष स्थानमा उक्लियो, राजस्थान स्तब्ध

एजेन्सी । दिल्ली क्यापिटल्स जारी इण्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । 

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा सोमवार राति सम्पन्न भएको खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने आवद्ध टिम दिल्लीले  राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो ।

१ सय ९२ रनको विजय लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको दिल्लीले निर्धारित लक्ष्य ४ विकेटको क्षतीमा पूरा ग-यो । 

दिल्लीका लागि ऋषभ पन्तले ७८ रन, शिखर धवनले ५४ रन तथा पृथ्वी शाले ४२ रन जोडे ।  यता राजस्थानका लागि श्रेयस गोपालले २ तथा धवन कुलकर्णी र रियान परागले समा एक-एक विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि ओपनर ब्याट्म्यान सन्जु स्यामसन शुन्य रनमा पेभेलियनमा फर्किए ।

त्यस्तै उपकप्तान अजिंक्य रहाणे र कप्तान स्टिभन स्मिथले १ सय ३१ रनको महत्वपूर्ण साझेदारी गरे । रहाणेले अविजित १सय ५ रन तथा स्मिथले ५० रन बनाए ।

दिल्लीका लागि कगिसो रबाडाले २ विकेट लिए । अक्षर पटेल, इशान्त शर्मा र क्रिस मोरिसले समान एक-एक विकेट लिए ।

जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पारेको छ । यो खेलमा दिल्लीले सन्दीप लामिछानेको सट्टा क्रिस मोरिसलाई टिममा सामेल गराएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?