निमा र मिनालाई स्वर्ण पदक

बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत १४ औँ राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीका खेलाडीद्धय निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण पदक जितेका छन् ।

दुवै खेलाडी १२ औँ दक्षिण एसियाली खेलकुद ‘साग’ को स्वर्ण पदकधारी खेलाडीहरु हुन् । 

महिला नान् छवान्/नान् तावमा निमाले समग्रमा १८ दशमलब २ अंक जोडिन् । प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो भए ।

महिला थाइची छ्वान/थाइची चेनमा आर्मीकी मिना ग्लान १८ दशमलब २१ अंकसाथ पहिलो भइन् । मिनाले १२ औँ सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् । सविताले १७ दशमलब ९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेश्रो भइन् ।

पुरुष थाइची छ्वान/थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए । उनले १८ दशमलब ४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोश्रो तथा सुदूरपश्चिमका जनक बुढा तेश्रो बने । पुरुष नान छ्वान/नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते ।

उनले १९ दशमलब १ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कास्य हात पारे ।

नेपालगन्ज रंगशालाको कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत सान्सौंको पुरुषतर्फ विभिन्न ८ तौलसमूहको फाइनल सम्पन्न भएको छ ।

पुरुष ५२ केजीमा एपीएफका अशोक खालिङ पहिलो भए । फाइनलमा उनले प्रदेश ३ का रोशन अछामीलाई पराजित गरे । ५६ केजीमा प्रहरीका पदम ठकुल्लाले फाइनलमा एपीएफका अमर सुनारलाई हराउँदै स्वर्ण जिते ।

६० केजीमा एपीएफका मंगलप्रसाद थारुले पहिलो स्थान हात पारे । उनले फाइनलमा कर्णालीका राजेन्द्र शाहीको चुनौती समाप्त पारे । ६५ केजीको फाइनलमा एपीएफका सन्जिव महर्जनले सुदूरपश्चिमका सुभाल भुल सोठीलाई पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरे ।

पुरुष ७० केजीमा आर्मीका चित्रसिंह ठकुरीले प्रदेश ५ का रुद्रप्रसाद सारु, ७५ केजीमा आर्मीका पदम राईले एपीएफका अनिश शाही, ८० केजीमा आर्मीका शिवजी सिलवालले एपीएफका निकेश श्रेष्ठ तथा ८५ केजीमा आर्मीका किरणसिंह साउदले एपीएफका भुपेन्द्र शाहलाई फाइनलमा पन्छ्याउँदै स्वर्ण पदक जितेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?