भियतनामका पूर्व राष्ट्रपतिको निधन

हनोई । भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा निधन भएको छ । 

जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो ।

दक्षिण भियतनाममा अधिकांश समय बिताएका जनरल ली भियतनामलाई उपनिवेश बनाएको फ्रान्स र अमेरिकी सैनिक विरुद्धको भिषण युद्धमा सहभागी भएका थिए । जनरल ली सन् १९९२–१९९७ सम्म भियतनामको राष्ट्रपति बनेका थिए । उनकै शासनकालमा भियतनामले आर्थिक उदारीकरण अपनाउँदै आर्थिक वृद्धिलाई तिब्र बनाएको थियो ।

भियतनाम युद्धपछि सन् १९९५ मा उनी पहिलोपटक राष्ट्राध्यक्षका रुपमा राष्ट्रसंघको बैठकका निम्ति अमेरिकाको भ्रमणमा गएका थिए । भियतनाम युद्धपछि कोही पनि भियतनामी सरकार वा राष्ट्रप्रमुख अमेरिका भ्रमणमा गएका थिएनन् । 

उनले दक्षिण भियतनामको राजधानी साइगोनलाई अमेरिकी सेनाबाट मुक्त गर्ने उपकमान्डरका रुपमा भूमिका निर्वाह समेत गरेका थिए । सन् १९७८ मा कम्बोडियामा आक्रमण गरी पोलपोटलाई सत्ताच्यूत गराउन अहम् भूमिका खेलेका कारण उनलाई 'कम्बोडियाको बाघ' का रुपमा पनि सम्झने गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?