मुम्बई । बलिउड अभिनेता पंकज त्रिपाठी अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन् । उनले ३ वर्ष यता करिब १४ फिल्ममा काम गरिसकेका छन् । अब भने यी अभिनेता अभिनयबाट ‘ब्रेक’ लिन चाहन्छन् ।
पंकजका अनुसार, अब उनी हरेक फिल्मको सुटिङ पुरा भएपछि ३० दिनका लागि ‘ब्रेक’ लिने योजनामा छन् । उनी पछिल्लो फिल्मको भूमिकाबाट बाहिर निस्कनका लागि यो निर्णय लिन लागेको बताउँछन् ।‘मैले आफ्नो काम कम गर्ने निर्णय लिएको छु । मलाई लाग्यो कि यो धेरै नै भयो । यति धेरै अभिनय गर्नु पनि हुँदैन । हरेक कुराको एक सीमा हुन्छ र मैले आफ्नो शारीरिक हाउभाउलाई परिवर्तन गर्न सकिनँ । यसकारण नै मैले वर्षमा १० प्रोजेक्ट गर्नुको सट्टा अब मात्र तीन प्रोजेक्ट गर्ने निर्णय लिएको छु’, उनले भनेका छन् ।
पंकजले फिल्म ‘स्त्री २’को सेटको एक किस्सा पनि शेयर गरेका छन् । उनले आफ्नो कामले कसरी ‘ओभरल्याप’ गर्न सुरु गर्यो भन्ने किस्सा खुलाएका छन् ।‘फिल्म ‘मे अटल हुँ’को सुटिङ पुरा गरेर अघिल्लो दिन म ‘स्त्री २’को सेटमा पुगें । सुटको सुरु दिन नै निर्देशक अमर कौशिक मेरो नजिक आएर ‘अटल जी जस्तो देखिनु भएको छ’ भने । मैले ‘अब के गर्नु ? भनेर सोधें । त्यसपछि अमरले मलाई एकदिनको बिदा दिएर ‘घर गएर स्त्री हेर्नु र रिल्याक्स गर्नु’ भने’, पंकजले भनेका छन् ।
पंकजले एक सेटबाट अर्को सेटमा बिना तयारी जानु कलाकारका लागि गलत भएको बताए । ‘मलाई लाग्छ कि हरेक फिल्म सुरु गर्नुअघि ३० दिनको ग्याप गर्न आवश्यक छ ।१० दिन पुरानो चरित्रलाई बिर्सन, १० दिन परिवारलाई समय दिन र १० दिन नयाँ भूमिकाको तयारी गर्नका लागि हो । अब म यो नियम लागु गर्छु’, पंकजले भनेका छन् ।
वर्षौको काम पछि पंकज अहिले त्यो व्यावसायिक स्थानमा छन्, जहाँ उनी नयाँ काम अस्वीकार गर्न या आफ्नो इच्छाले भूमिका स्वीकार्न सक्छन् । ‘पहिला ममाथि कैयौं जिम्मेवारी थियो ।त्यो बेला म हरेक काम पैसा कमाउनका लागि गर्थें । अब अवस्था फेरिएको छ । मेरो इएआई पुरा भइसकेको छ । पैसाको जीवनमा ठूलो भूमिका छैन । यो कुरा भन्नका लागि पनि पैसा चाहिन्छ । पैसा भयो भने मात्र मानिसले यी कुरा भन्न सक्छ’, उनी भन्छन् । रवि जाधव निर्देशित फिल्म ‘मे अटल हुँ’ १९ जनवरीमा रिलिज हुँदैछ । यो फिल्मका अलावा यो वर्ष पंकजका दुई फिल्म ‘स्त्री २’ र ‘मेट्रोः इन दिनो’ रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया