रिप, रिङको अभावमा सुरुङको काम रोकियो

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ ।

तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३५ महीनादेखि काम शुरु भएकामा अहिले ‘रिप, रिङ’ सुरुङभित्र माटो, ढुङ्गा अड्याउने साधन नहुँदा काम रोकिएको छ ।

३१ महिना भित्र ‘डिपिआर’ विस्तृत योजना प्रतिवेदन तयार पारेर कम्पनीलाई दिनुपर्ने हो तर निर्धारित अवधिमा ६ महिना थपे पनि सो मिति सकिन लाग्दासम्म कामले गति लिनसकेको छैन । 

विद्युत्गृह निर्माणका लागि ३ सय ४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन काम शुरु भए पनि मिति सकिन दुई महिना बाँकी रहँदासम्म १ सय ८५ मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनीयर पदम थापाले बताए । 

इञ्जिनीयर थापाले भने, “डिपिआर तयार गर्न बारेकोट गाउँपालिकाको अँधेरीखोलामा चार वटा ६० मिटर गहिराइका प्वाल पार्नुपर्ने भए पनि अहिलेसम्म दुई प्वाल ४० मिटर गहिराइमा छेडिएको छ भने बाँकी दुई प्वाल २५ मिटर छेडिएको छ, ३५ मिटर अझै छेड्न बाँकी छ” ।

स्मेक कम्पनीले सेन्चुरी कन्स्ट्रक्सन प्रालि सानेपा ललितपुरलाई भूमिगत प्वाल पर्ने जिम्मा दिएअनुसार काम भएको कन्स्ट्रक्सनका प्रमुख वसन्त डिसीले बताए । 

पचासभन्दा बढी माटो, ढुङ्गा अड्याउने ‘रिप, रिङ’ मेसिन आवश्यकता पर्ने भएकाले सो मेसिन नहुँदा अहिले काम रोकिएको प्रमुख डिसीले जानकारी दिए । हप्ता दिनभित्र सबै रिप निर्माण हुने, त्यसपछि मात्र काम शुरु हुने बताए । 

निर्माणका लागि तोकिएको मिति आउन दुई महीना मात्र बाँकी रहँदासम्म धेरै काम बाँकी रहेकाले निर्माण हुन समस्या रहेको नलगाड सरोकार समितिका अध्यक्ष तथा सांसद गणेशप्रसाद सिंहले बताए ।

उनले भने,  “काम निरन्तर नगर्दा र ढिलासुस्ती गरिरहेकाले तोकिएको मितिमा काम पूरा नहुने देखिन्छ, बाँधतिर जाने सडकदेखि सुरुङ निर्माणको काममा सम्बन्धित निकायको उदासीनताले जाजरकोटवासी दुखी हुनुपर्ने अवस्था सिर्जना भएको छ ।”

नलगाड जलविद्युत् कम्पनी बाँध निर्माणस्थल ‘बारेकोट गाउँपलिका अँधेरीखोला’ जानका लागि निर्माणकार्य भइरहेको सडक निर्माण व्यवसायीले गतिमा काम नगर्दा समस्या भएको सांसद सिंहले सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

पहुँचमार्गको काम पूरा गर्न अझै कडा चट्टान भएको दुई किलोमिटरभन्दा बढी भूभाग बाँकी रहेको छ भने खारास्थित नलगाड नदीमा निर्माण हुने भनिएको पुल शुरु नै गरिएको छैन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनी थालिएको काम पाँच वर्ष बित्न लाग्दासम्म पूरा हुन नसकेको सांसद सिंहले बताए । 

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा जलाशययुक्त बाँध निर्माण गरी भूमिगत सुरुङमार्फत नलगाड नगरपालिका–७ दल्लीमा विद्युत् उत्पादनगृह निर्माण गर्ने लक्ष्य लिइएको छ ।

कालीमाटी खन्टाकुरा, सिके हुँदै अँधेरीखोला सडकको लम्बाइ साढे २२ किलोमिटर र कालीमटी, खारा, लैखम हुँदै अँधेरीखोलाको लम्बाइ साढे १० किलोमिटर रहेको कम्पनीले जनाएको छ । बाँधस्थल अँधेरीखोलादेखि दल्ली विद्युत् उत्पादनगृहसम्मको सुरुङमार्गको लम्बाइ आठ किलोमिटर निर्माण गर्नुपर्ने प्राविधिक अनुमान रहेको छ ।

ताँसुगाड बीचमै अलपत्र

त्यस्तै नलगाड जलविद्युत् कम्पनी निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणकार्य अलपत्र परेको छ । 

डिपिआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेन्ट नयाँ बानेश्वरले बीचमै काम छाडेर सम्पर्कमा नआएपछि समस्या भएको हो ।

सो कामका लागि ८८ लाखमा ठेक्का लिएर ४३ लाख रकम भुक्तानी लिएको र बाँकी रकम नलिएरै सम्पर्कमा नआएको सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताए ।  कन्सल्टेन्टका प्रमुख दीपेन्द्र बमसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसकेको छैन ।

ताँसुगाड जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गरेर नलगाड जलविद्युत् कम्पनी निर्माण गर्ने लक्ष्य राखिएको छ । दुई वर्षभित्र प्रतिवेदन बुझाउने सम्झौता भए पनि डिजाएडले पाँच वर्ष पूरा भए पनि प्रतिवेदन बुझाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?