काठमाडौंका ‘स्मार्ट धोबी’ : लुगा धोएरै लाखौं कमाउँदै(भिडियो सहित)

काठमाडौं । मार्केटिङ गरेर जेनतेन राम्रै पैसा कमाइरहेका वेला एकाएक सुजनले सोचे ‘कमाएर मात्रै भएन अब पैसा जमाउनु पनि पर्छ’ । आफ्नै उमेरका युवाहरुको लहडबाट अछुतो रहन सकेनन् सुजन । उनलाई पनि विदेशको डलरले तान्यो । बाहिर जाने चाँजोपाँजो मिलाउन उनी दिल्ली पुगे ।

त्यहीवेला उनलाई थाहा भयो महिनाको डेढ लाख दिन्छ भनेर जान लागेको कम्पनीले ५० हजार मात्रै दिने रहेछ । ५० हजारकै लागि लाखौं खर्च गरेर अर्काको देश जानु उचित लागेन सुजनलाई । किनकी उनलाई यकिन थियो यहीँ बसेर त्यति पैसा लगानी गर्ने हो भने त्यो भन्दा बढी कमाउन सकिन्छ । तर, ‘लगानी गर्ने के मा ?’ दिमागमा यही प्रश्नको सिँगौरी चलिरहँदा उनले दिल्लीमा ‘लन्ड्री सर्भिस’ ले खुब राम्रो व्यापार गरिरहेको अनुभव गरे ।

‘व्यस्त जीवन भएकाले प्राय सबैले लन्ड्रीमा नै आफ्नो लुगा धुन दिने रहेछन् त्यहाँ,’ यस क्षेत्रमा लाग्ने सोच कसरी पलायो भन्ने प्रसङ्गमा उनी भन्छन्, ‘यसो सोचें काठमाडौंका मान्छेहरु पनि उत्तिकै व्यस्त छन् आजकल, यस्तो विजनेस गज्जबले चल्छ ।’

हिजोसम्म विदेश जान्छु भनेको छोरा एक्कासी यहीं बसेर ‘धोबी’ हुन्छु भनेको सुन्दा आमाले ‘के भनेको यस्तो?’ किसिमको प्रतिक्रिया नदिइ रहन सकिनन् । सुजनको मस्तिष्कले अझै भुलेको छैन ‘धोबी हुने भइस् अब’ आमाले भनेका यी चार शब्द । 

त्यसो त राजधानीमा पनि थुप्रै लन्ड्री सर्भिसहरु देखेका थिए सुजनले तर, घरघर गएर कपडा लिने र धोइसकेर फेरि पु-याइदिने किसिमको सेवा अहिलेसम्म कुनै लन्ड्रीले नगरेको उनले पहिल्याए । त्यही क्षण उनको मस्तिष्कले एउटा बिज्नेस योजना को-यो ‘फ्रि पिक एण्ड डेलिभरी लन्ड्री सर्भिस ’। 

दिल्लीको बसाइले अरु केही दिन नसके पनि आफूलाई यो बिज्नेस आइडिया दिएको उनले सुनाए । बस् उनी काठमाडौं फर्किए । आमालाई आफ्नो योजना बारे बताए । हिजोसम्म विदेश जान्छु भनेको छोरा एक्कासी यहीं बसेर ‘धोबी’ हुन्छु भनेको सुन्दा आमाले ‘के भनेको यस्तो?’ किसिमको प्रतिक्रिया नदिइ रहन सकिनन् । सुजनको मस्तिष्कले अझै भुलेको छैन ‘धोबी हुने भइस् अब’ आमाले भनेका यी चार शब्द । 

यद्यपि उनलाई थाहा थियो यस किसिमका थुप्रै प्रतिक्रियाहरुसँग जुध्नु छ आउने दिनहरुमा । आफैलाई मानसिक रुपमा तयार गरिसकेका थिए सुजनले ।‘आमा, काम सानोठूलो हुँदैन,’ मुस्कुराउँदै आमालाई सम्झाए, ‘यसै पनि आजकल लुगा धुने मेसिनहरु पाइन्छ त्यसैले तपाईंको छोरा धोबी होइन बिज्नेसम्यान हुनेछ ।’

आमाको मनलाई छोराको आश्वासनले पगाल्यो । ‘जे गर्छस् गर्,’ उनले भनिदिइन् । 

कपडा लिन विभिन्न ठाउँमा पुग्दा कतिले उनलाई आँखा तन्काउँदै हेर्छन् । अचम्म मानेको भावमा । कतिले मुखै फोडेर सोध्छन्, ‘तपाईं आफै ओनर भएर पनि कपडा लिन आउनुभएको ?’ सुजनलाई रमाइलो लाग्छ । लाज लाग्दैन ।

वि सं २०७५ वैशाखमा बौद्धस्थित नयाँ बस्तीको एउटा सटरमा शुरु गरे उनले ‘स्मार्ट क्लिन एण्ड ड्राइ अनलाइन लन्ड्री सर्भिस’ । सुजनसँगै अहिले त्यहाँ दुईजना कार्मचारी पनि छन् । सुजन र एकजना कर्मचारी प्राय धुने कपडा लिन राजधानीका विभिन्न ठाउँमा पुग्छन् । त्यस्तै अर्की कर्मचारी धुने, ड्राइ गर्ने काममा खटिन्छिन् । भ्याएसम्म सुजन आफै पनि कपडा धुने, सुकाउने, पट्याउने सबै गर्छन् ।

कपडा लिन विभिन्न ठाउँमा पुग्दा कतिले उनलाई आँखा तन्काउँदै हेर्छन् । अचम्म मानेको भावमा । कतिले मुखै फोडेर सोध्छन्, ‘तपाईं आफै ओनर भएर पनि कपडा लिन आउनुभएको ?’ सुजनलाई रमाइलो लाग्छ । लाज लाग्दैन । भन्छन्, ‘ओनरले चाहिँ कामै नगरी बसीबसी खाने भन्ने सोचले नै हो हामी बिग्रिएको ।’

उनलाई भने चुप लागेर बस्न मन लाग्दैन । काम नगरी खाएको पच्दैन । समय खेर फाल्दा आँखामा निन्द्रा पर्दैन । त्यसैले लन्ड्री सर्भिस सँगसँगै आफूले इलेक्ट्रोनिक्स पसल समेत सञ्चालन गरिरहेको सुजनले बताए । उनको कुरा सुन्दा दुवै व्यवसायबाट राम्रो आम्दानी भइरहेको छनक पाइन्छ ।

‘कति जति कमाउनुहुन्छ त महिनामा ?’ आफ्नो जिज्ञासा बिसायौं । 

‘खै कति भनौं,’ अलि हिच्किचाएजस्तो गरेर मुस्कुराउँदै उनले भने, ‘जे होस् विदेशको डलर भसक्कै बिर्साइदिएको छ ।’

राष्ट्रले युवालाई अवसर दिनुपर्ने हो तर, यदि दिएको छैन भने सरकारकै मुख ताकेर बस्नुभन्दा आफै अवसर सिर्जना गर्नुपर्छ भन्ने सुजनको मान्यता थियो । ‘लुगा धुने काम जति सामान्य छ उतिकै अपरिहार्य तर कसैले यही कामलाई बिज्नेसको रुपमा गर्न सकिन्छ भन्ने सोचेका थिएनन्,’ उनी अगाडि थप्छन्, ‘यस्ता थुप्रै आइडियाहरु छन् गर्न चाहने हो भने ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?