कुस्ती खेलाडी विष्ट गम्भीर बिरामी

सुर्खेत। । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।

कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरेका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौं लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुन् । 

राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ को सहजीकरणमा विष्टको काठमाडौं बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । 

चिकित्सकले ६० दिनभित्र कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएकाले आर्थिक स्रोत जुटाउन लागिरहेको उनको छिमेकी ऋषि गिरिले जानकारी दिए । ‘परिवारको आर्थिक अवस्था कमजोर छ, एउटा राष्ट्रियस्तरको खेलाडीले आर्थिक अभावकै कारण अकालमा मर्नुपर्ने अवस्था आउन नदिन सहयोग जुटाउन लागिरहेका छौँ’, गिरीले भने ।

‘राखेपका साथै प्रदेश सरकारसँग पनि सहयोग मागेका छौँ।’ 

निर्मलको जीवन रक्षाका लागि कुमारी बैंक सुर्खेतमा आमा कोलामु विष्टको नाममा ०२६००४१६५६७००००१ नम्बरको खाता खोलिएको छ भने कलाकार र खेलाडीले ‘निर्मल विष्ट बचाऊँ’ अभियान सञ्चालन गरी आर्थिक सङ्कलन जुटाउन थालेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?