नेपाली खेलकुद नयाँ युगमा प्रवेश

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ ।

पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकुद नयाँ युगमा प्रवेश गरेको छ ।
 
राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताए ।

‘सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा विवादरहित ढङ्गले हामीले प्रतियोगिता सम्पन्न गर्दैछौँ’, उनले भने । ‘आठौँको भव्य उद्घाटन समारोह, अत्याधुनिक भौतिक पूर्वाधार र खेलाडीको उत्साह हेर्दा नेपाली खेलकुद नयाँ युगमा प्रवेश गरेको छ ।’

प्रतियोगिता विभिन्न ठाउँमा गर्दा खेलाडीलाई केही असहज भएता पनि राष्ट्रिय खेलकुदका अवसरमा पहिलोपटक प्रदेश नं ५ का विभिन्न जिल्लामा धेरै खेलकुदका पूर्वाधार बन्न सकेको उनले बताए ।

प्रदेश खेलकुद विकास समिति अध्यक्ष भीम वलीले प्रतियोगिताले नेपाली खेलकुदलाई नयाँ युगमा प्रवेश गराएको बताए । 

‘खेलकुद परम्परा र संस्कृति जगेर्नाको रुपमा मात्र खेलिँदै आएको थियो’, उनले भने, ‘तर हामीले करोडौँको भौतिक पूर्वाधार निर्माण गरैर साँच्चिकै नेपाली खेलकुदको युग परिवर्तन गर्न सफल भएका छौँ ।’

उनले काठमाडौंमा समेत खेलकुदका भौतिक पूर्वाधार नभएको अवस्थामा प्रदेश नं ५ मा खेलकुदका लागि आधुनिक पूर्वाधार तयार गरिएको जानकारी गराए । 
 
नेपालगञ्ज रङ्गशालामा बनेको अत्याधुनिक भीआइपी प्यारापिट, रङ्गशालामा नै वर्मुडा दुवै अन्तर्राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज र एथलेटिक्स ट्रयाक र जुडो हल निर्माण भएका छन् भने बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।

बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौं, ललितपुर र पोखरामा भएको प्रतियोगितामा ३५ खेलमा करिब पाँच हजार खेलाडीको सहभागी भएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आज ‘बुधवार’ साँझ भव्य समारोहका बीच नेपालगञ्जस्थित  रङ्गशालामा समापन गर्ने कार्यक्रम रहेको छ । 


 
गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गरेकी थिइन् । 
समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र जनप्रतिनिधिलगायतको सहभागिता हुनेछ ।

प्रतियोगिताको अन्तिम दिन आज फुटबल, भलिबल र पौडीका मात्र फाइनल खेल हुनेछन् ।
 
समापन समारोहमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने प्रदेशलाई प्रतियोगिताको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?