सरकारले गरेन औपचारिक कार्यक्रम, कहाँ राखिए शहिदका सपना

काठमाडौं । लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ । 

तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनता सामु घुँडा टेकेको दिनको रुपमा मुलुकमा लोकतन्त्र दिवस मनाउने गरिन्छ । 

लोकतन्त्र दिवसमा सरकारको तर्फबाट औपचारिक कुनै कार्यक्रमको आयोजना गरिएको छैन । तर, विभिन्न संस्थाहरुले आफूअनुकुल कार्यक्रम आयोजना गरेको छ । 

लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा दिवस कै रुपमा घोषणा गरेपनि सरकारले खासै वास्ता गरेको पाइँदैन । 

सरकारले कुनै औपचारिक कार्यक्रम राखेको छैन भने राष्ट्रपति विद्यादेवी भण्डारी आजै नौ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकि छिन् । 

विस २०६२–०६३ सालको १९ दिने लामो जनआन्दोलन पश्चात स्थापना भएको लोकतन्त्र । राजतन्त्रको अन्त्यसँगै मुलुकमा लोकतन्त्र स्थापना भएको १३ वर्ष पूरा भएको हो । 

ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनः स्थपना गरेका थिए । नारायणहिटी दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाहले प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चै चलाए । 

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र हटाउने रणनीति बनाएका थिए । शासन सत्ता आफ्नै हातमा लिएका ज्ञानेन्द्रले नेताहरुलाई जेल नै हाले ।

सात दल र सशस्त्र जनयुद्धमा रहेका तत्कालिन माओवादीबीच भएको १२ बुँदे समझदारी अनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध देशमा आन्दोलन चर्कियो । 

राजधानी काठमााडौंमा मानवसागर नै उर्लियो भने आन्दोलनका क्रममा दुई दर्जन भन्दाबढीले ज्यान गुमाए । अन्ततः राजा

ज्ञानेन्द्रले जनतासामु घुँडा टेक्न बाध्य भए र जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे । 

आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले ०६३ वैशाख ११ गते राति संसद पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । 

यसै दिनको सम्झनालाई लोकतन्त्र दिवस भनिन्छ । 

त्यस्तै २०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गर्यो । 

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो । 

२०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै मूलधारको राजनीतिमा आयो ।

२०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । 

संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्ष लामो राजसंस्थाको विधिवत् रुपमा अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा भयो । 

लोकतन्त्र स्थापना भएको दिन वैशाख ११ र गणतन्त्र स्थापना भएको दिन जेठ १५ मा हुँदै आएको सार्वजनिक बिदा भने केपी शर्मा ओलीको वर्तमान सरकारले कटौती गरेको छ ।

सरकारले भने लोकतन्त्र, गणतन्त्रलाई संविधानले संस्थागत गरेकाले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०६२÷०६२ सालको जनआन्दोलनको जगमा नै तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र द्वन्द्व अन्त्य, शान्ति प्रक्रिया, सेना समायोजन, संविधान सभाबाट संविधान जारी, समावेशी मुलुक स्थापना, लोकतन्त्रलाई संस्थागत गर्दै मुलुक संघीयतामा जानुलाई मुख्य उपलब्धी मानिएको छ ।

लोकतन्त्र स्थापना पश्चात प्राप्त उपलब्धी संस्थागत हुँदै गएपनि सरकार धेरै चुनौतीको सामना गर्नु पर्यो । त्यस मध्ये मुख्य चुनौती भ्रष्टाचार नियन्त्रण गर्नु रह्यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?