सटर बन्द गरेर आन्दोलनमा उत्रीए न्युरोड क्षेत्रका व्यापारीहरु

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएसँगै व्यापारीहरु सटर बन्द गरेर आन्दोलित भएका छन् ।

पार्किङ गर्न रोक लगाएपछि व्यापार घट्ने भन्दै त्यस क्षेत्रका व्यापारीहरुले आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् । व्यापारीहरु त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय भने फिर्ता लिएको छैन ।

काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्रे सडकमा सवारी साधन पार्किङमा रोक लगाएको हो ।

महानगरले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरेको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाउने बताएको छ ।

यस्तै काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ भने नगर प्रहरीहरू खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?