झापा गोल्डकप फागुन १९ देखि, विजेताले १३ लाख पाउने

लोकपथ
98
Shares

विराटनगर । पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी छैटौँ संस्करणबारे जानकारी दिएको हो ।

बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । यो वर्ष झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए ।

मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्र पौडेलले जानकारी दिए । यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने बस्नेतले बताए ।प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको कोषाध्यक्ष केदार गिरीले बताए ।

छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?