करौडौंको लगानी बालुवामा पानी भयो हुलाकी सडकको कालोपत्रे

धम्बोजी । भुरीगाउँ सानोश्रीदेखि गुलरिया मुर्तिया सडकखण्डमा गरिइएको कालोपत्रे गुणस्तरहीन भएको आरोप स्थानीवासीको छ । 

सानोश्रीदेखि भत्केको पुलसम्मको करीब १० किलोमिटर सडकखण्डको विभिन्न स्थानमा खाल्डाखुल्डी बनाएर कालोपत्रे गरिएको छ । वर्षामा हिलो र हिउँदमा धुलोमय बाटोमा कष्टकर यात्रा गर्दै आएका बर्दियावासीले कालोपत्रे हुने खबरले हर्षित भएका थिए । तर गुणस्तरहीन कालोपत्रे हुँदा त्यहाँका जनताले पुनः सास्ती भोग्न बाध्य भएका छन् । 

सदरमुकाम गुलरिया जोड्ने हुलाकी सडकको कालोपत्रेको काम भने गुणस्तर नहुँदा यात्रा गर्ने यात्रुलाई सास्ती भोग्न परिरहेको बताएका छन् ।  सानोश्रीदेखि गुलरिया मुर्तिया सडकखण्ड कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले खाल्डाखुल्डी भएको कालोपत्र निर्माण गरेका कारण हुलाकी सडकको यात्रा सहज हुन नसकेको स्थानीयले गुनासो गर्न थालेका छन् ।

बेलवादेखि गुलरियासम्मको खण्डमा गरिएको कालोपत्रेको सतह बराबर नहुँदा सो सडकखण्डमा यात्रा गर्ने यात्रुले कुनै नयाँपनको महसुस गर्न पाएका छैन् । कतै अग्लो, कतै होचो गरी बनाइएको कालोपत्रका कारण कच्ची सडकको झल्को दिने गरी यात्रा गर्नुपरेको धेरैको गुनासो छ ।
 
ठेकेदार कम्पनीको लापरबाहीका कारण अग्लो होचो खाल्डाखुल्डीमा पानी जम्ने समस्याका कारण हुलाकी सडकको कालोपत्र दिगो नहुने हो कि भन्नेतर्फ पनि स्थानीयले शङ्का गर्न थालेका छन् । ६२ करोड १८ लाखको लागतमा सो सडकको कालोपत्रे भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?