अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने

चितवन । पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता  हुने भएको छ ।

जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिए । 

प्रतियोगिता यही वैशाख १९ गते देखि २१ गतेसम्म भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा हुने आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । प्रतियोगितामा नेपालका ३ सय ५० र भारतका ५० गरी ४ सय जना खेलाडीले सहभागिता जनाउने छन् । चितवनबाट मात्र ६० जना खेलाडीले सहभागीता जनाउने उनले बताए । 

सहभागी खेलाडीले उमेर समूह, तौल समूह र खुल्लामा प्रतिस्पर्धा गर्ने आचार्यले बताए । ६ देखि १३ वर्षका खेलाडीले उमेर समूहमा र १३ देखि १९ वर्षकाले तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

१९ वर्ष माथिकाले भने खुल्लातर्फ प्रतिस्पर्धा गर्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?