काठमाडौं । साल्पा फिल्म्सले निर्माण गरेको वृत्तचित्र ‘ढोरपाटन’ शुक्रबार प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ ।
अङ्ग्रेजी नाम ‘नो विन्टर होलिडेज’ रहेको वृत्तचित्र गत पौष २७ गतेदेखि राजधानीको सुनधारास्थित सिडीसी मलमा प्रदर्शन भएको थियो । फिल्मकर्मीसँगै दर्शकको उल्लेख्य उपस्थित भएपछि वृत्तचित्रका निर्माता, वितरक, र प्रदर्शकहरूले यसको नियमित प्रदर्शनलाई निरन्तरता दिने निर्णय लिएका हुन् ।‘शुरुमा त हामीलाई यस वृत्तचित्रको दर्शक को हुन सक्लान भन्ने प्रश्न थियो र त्यसै अनुसार यसको प्रचार गर्यौ,’ निर्माता राजन कठेतले भने, ‘तर अहिले हामीलाई दर्शकले ‘यो त छुटाउनै नहुने रहेछ, त्यसैले हेर्न आएको’ भन्ने किसिमको प्रतिक्रिया दिनुभयो र उत्साहित भई यसलाई हलमा निरन्तरता दिने निर्णय गर्यौ ।’
२०७५ फागुनदेखि निर्माण शुरु भएको वृत्तचित्रको विश्व प्रिमियर बेलायतको शेफिल्ड डकफेष्टमा गत असारमा भएको थियो ।त्यसपछि एसियन प्रिमियर गत भदौमा दक्षिण कोरियाको डिएमजी डक्समा भएको थियो ।तिहारअघि भारतको हिमाचल प्रदेशको धरमशालामा आयोजित ‘धरमशाला अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा पनि ‘ढोरपाटन’ देखाइएको थियो ।त्यस्तै कलकत्ताको कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले प्रशंसा बटुलेको थियो ।वृत्तचित्र गत मंसिरमा काजाकस्तानमा आयोजित ‘प्रथम अल्टरनेटिभा फिल्म अवार्ड’मा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो भने ‘नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव’मा ‘सर्वोत्कृष्ट वृत्तचित्र’ घोषित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया