नवलपरासी । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी पश्चिम नवलपरासीस्थित ऐतिहासिक बुद्धमङ्गल तालको सौन्दर्यीकरण गर्न थालिएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका–१२ स्थित यो ताललाई प्रदेश नं ५ सरकारले २० लाखको लागतमा सौन्दर्यीकरण गर्न शुरु गरेको हो ।
सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिएको थियो । तालमा पर्याप्त पानी भए पनि झार धेरै भएकाले तालको सुन्दरता नै हराएको थियो । लामो समयपछि अहिले यस ताललाई सौन्दर्यीकरण गर्न थालिएको हो ।
पच्चीस लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेश सरकारले यस वर्षलाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउँदैछ । तालको ऐतिहासिकता गौतमबुद्धसँग जोडिएकाले प्रदेश सरकारले भ्रमण वर्षको अवसर पारेर यस ताललाई सौन्दर्यीकरण गर्न शुरु गरेको प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले जानकारी दिए ।
अहिले बुद्धमङ्गल तालको सौन्दर्यीकरणका लागि धमाधम काम भइरहेको छ । उनका अनुसार हालको बजेटले पोखरीको झारपात हटाइनुका साथै करीब डेढ फिट गहिरोसम्मको माटो निकालेर सफा गरिनेछ ।
विगतमा पोखरीको चारैतिर बनाएको पर्खाल सानो भएकाले उक्त पर्खाललाई पनि केही फिट बढाइनेछ । यसैगरी पोखरीमा गएर स्नान गर्ने प्रयोेजनका लागि केही सिँढी पनि बनाइने प्रदेशसभा सदस्य अधिकारीले जानकारी दिए ।
साढे ६ बिघामा फैलिएको र गोलाकार आकृतिमा रहेको यो ताल आजसम्म सुकेको दृष्टान्त छैन । निर्मल र कञ्चन पानी रहेको यस तालको सम्बन्ध बुद्धसँंग जोडिएकाले लुम्बिनी भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्य रहेको उनले बताए ।
बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा बुद्धमङ्गल ताललाई बुद्धसर्किटसँग जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरिने लक्ष्य राखिएको बताए । तालको वरपर गत वर्षको करीब पाँच लाखको बजेटबाट रिङरोड बनाइएको तथा अहिले पनि सो कार्यका लागि सात लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
हुलाकी सडकबाट आधा किलोमिटर उत्तरमा पर्ने यस तालको प्रवेशद्वार, सौन्दर्यवृद्धि र संरक्षणमा पूर्वसांसदद्वय विक्रम खनाल र सिन्धु जलेसाले पनि सहयोग गरेका थिए । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा यो ताल ओझेलमा छ ।
प्रदेशसभा सदस्य अधिकारीका अनुसार भगवान् गौतमबुद्ध राजकाज त्यागी बुद्धत्व प्राप्तिका लागि अनुमाघाट ‘नारायणी नदी’मा स्नान गर्न जाने क्रममा यस तालमा पनि नुहाएर गएको किम्वदन्ती प्रचलित छ ।
बुद्धमङ्गल ताल संरक्षण समितिका अध्यक्ष दीपप्रकाश लोहनीका अनुसार गौतमबुद्ध काठमाडौंको खाल्डो जाने क्रममा परासीदेखि १२ किलोमिटर पूर्व हाल बर्दघाट नगरपालिका–१२ स्थित मनोरम यो ताल देखेपछि आफ्नो अनुयायीसहित यसै ताल छेउमा राति बास बस्नुभएको कथन पनि छ ।
उक्त बसाइको क्रममा स्थानीयवासी दुई जमिन्दार भाइ दबिला र मङ्गललाई आफ्नो प्रवचनबाट दीक्षित बनाएको किम्वदन्ती पनि सुन्न पाइन्छ । ती दुई दाजुभाइमध्ये दबिलाको नामबाट आज पनि दुई गाउँ ‘पुरानो दबिला, नयाँ दबिला’ रहेका छन् भने मङ्गलको नाउँ अगाडि बुद्ध जोडी बुद्धमङ्गल ताल नामकरण गरिएको किम्वदन्ती छ ।
तत्कालीन समयमा घना जङ्गलबीच शान्त ताल रहनु र यस क्षेत्रमै नारायणी नदीपछि जल सुन्दरताका हिसाबले यही ताल नै उत्कृष्ट रहनुले पनि यसको ऐतिहासिकता झल्काउने स्थानीयवासीको दाबी छ । बुद्ध जीवनी, बौद्ध धार्मिक ग्रन्थको मिहिन अध्ययन र अनुसन्धान हुने हो भने यस सम्बन्धमा निश्चय पनि केही तथ्य हात पर्ने स्थानीयवासी दीपक बरालको विश्वास छ ।
यसबाहेक रैथाने थारू जातिले जमकतार देवीको आश्रयस्थलको रुपमा यस ताललाई लिई अति पवित्र मानी यसै तालको पानीबाट खाना पकाउने प्रचलन केही वर्ष अगाडिसम्म रहेको पनि बूढापाका बताउँछन् । जमकतार देवीको सानो मन्दिर ताल किनारमा अवस्थित छ । ताल वरपर पुरानो थारू बस्ती नै छ ।
स्थानीयवासी दीपक बरालका अनुसार परापूर्वकालमा यस तालबाट सुनका भाँडाकुँडा स्थानीयवासीले मागे जति पाउने तर, कार्य सम्पन्न भए पछि तालमा बिसर्जन गर्नुपर्ने प्रथा थियो ।
घरमा पूजाआजा, बिहेलगायतका उत्सव हुँदा भाँडाको माग गरेपछि सतहमा तैरिएर आउने गथ्र्यो तर, एक लोभी व्यक्तिले एउटा कचौरा लुकाएपछि देवी क्रोधित भई लगातार वृष्टि गराई ताल जलमग्न गराउँदा भाँडा बग्दैबग्दै नजिकबाट बग्ने खोलाको माध्यमबाट दक्षिणतर्फ गएको भन्ने किम्वदन्ती सुनिन्छ ।
यसबाहेक नाक र कानमा गहना लगाएको विशाल मत्स्य देवता तालमा अहिले पनि रहेको कथा पनि प्रख्यात छन् । गहना लगाएको माछा विश्वास गर्न नसकिने भए पनि विशाल माछा तालमा रहेको र त्यो बेलाबखत सतहमा आउने गरेको आफूहरु प्रत्यक्ष देखेको दाबी कतिपय स्थानीयवासीको छ ।
त्यसैगरी, अजिङ्गर पनि बेलाबखतमा देखिने गरेका छन् । सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ ।
ताल वरपर सरस्वतीको मन्दिर, शिवालय, बुद्धमार्गीको गुम्बा, १ सय ८ शिवलिङ्ग, प्रतीक्षालय, सामुदायिक वन, खानेपानी परियोजना तथा ध्यान केन्द्रलगायतका प्राकृतिक तथा भौतिक संरचनाको निर्माण तथा विकास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया