सहिद मञ्च बिक्रीमा ! महानगरपालिका र ओली सरकारलाई आयो यस्तो चेतावनी

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले बालुवाटारको जमिन कब्जा भएको घटनाले स्तब्ध भएको बताएको छ । 

के.पी. ओली सरकारले १४ महिना पुरा भएको खुसियाली मनाइरहेको बेला सरकारमा भएका कमिसनखोरहरुसँगको मिलेमतोमा भूमाफियाहरुले सरकारकै एउटा मुख्यालय भएको बालुवाटारको जमिन कब्जा गरेको घटनाले स्तव्ध पारेको भन्दै विज्ञप्तिमा भनिएको छ । 

 यो घटनाको चर्चा नसेलाउँदै काठमाडौं महानगरपालिकाको मिलेमतोमा स्वच्छन्द बिकोई बिल्डर्सले सहिद मञ्च ( खुला मञ्च) कब्जा गरेर त्यस स्थानमा ५२ वटा सटर बनाएर भाडामा लगाउँदै छ भन्ने समाचारले जनतालाई उद्देलित बनाएको छ । सहिद मञ्च जनताले आफ्ना अभिव्यक्ति सार्वजनिक गर्ने ठाउँ हो । यस माथि धावा बोल्ने काम केवल जनताको सम्पत्ति माथि अतिक्रमण मात्र होइन, यो जनताको अधिकार माथिको अतिक्रमण पनि हो ।’

बालुवाटारदेखि खुल्लामञ्चसम्म भूमाफियाले हत्याइरहेको बेला देशभक्त जनगणतान्त्रिक मोर्चाले विज्ञप्तिमार्फत भनेको छ, ‘यो हाम्रो लागि सह्य हुन सक्दैन ।’मञ्चले महानगरपालिका र ओली सरकार दुबैलाई चेतावनी दिदैँ  सहिद मञ्चलाई यही बैशाख महिनाभित्र खाली गर्न भनेको छ । 

विज्ञप्तिमा लेखिएको छ,  ‘यदि त्यसो गरिएन भने जनता आफैंले प्रत्यक्ष कारवाहीद्धारा मुक्त गर्न वाध्य हुने छन् । यसको निमित्त हाम्रो संगठन अग्रपंिक्तमा रहेर संघर्ष गर्न तयार रहने कुरा पनि स्पष्ट पार्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?