काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ । कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै समूह चरणको अन्तिम खेलसहित समग्रमा ६ खेलमा जित हात पार्न सफल भयो ।
लुम्बिनीले पहिला ब्याटिङ गर्दै ३२.२ ओभरमा १०६ रन बनाएको थियो । लुम्बिनीका लागि शुसान्त थापाले २८ रन बनाउँदा निर्मल गुरुङले २७ रन नटआउट बनाए । यसैगरी प्रज्वल थापाले १४ रन बनाउँदा विराट भण्डारीले १३ रन बनाए ।
बागमतीका सूर्य तामाङले सर्वाधिक ६ विकेट लिँदा विपिन आचार्यले २ विकेट लिए । यस्तै, प्रतिश जिसी र कृजन गुरुङले एक एक विकेट लिए ।
१०७ रनको लक्ष्यसहित मैदान उत्रिएको बागमती प्रदेशले १७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । बागमतीलाई जिताउन इशान पाण्डेले ५० रनको अर्धशतकीय पारि खेले । उनले ५४ बल फेस गर्दा २ छक्का र ५ चौका प्रहार गरेका थिए । यसैग्री कप्तान रित गौतमले २४ रन नाउँदा आसुतोष घिररैयाले १४ रन बनाए । रविन जोशीले नटआउट ७ रन बनाए ।
लुम्बिनीका निर्मल गुरुङले २ विकेट लिँदा कृष्ण कार्की र अभिषेक गौतमले एक एक विकेट लिए ।
यसैबीच, ६ मा जित र ३ खेलमा हार व्यहोरेको बागमती १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष २ ले फाइनल खेल्ने तालिका अनुसार बागमतिको फाइनल खेल्ने सम्भावना रहे पनि अन्य खेलको नतिजामा भर पर्नुपर्छ ।
पुलिस अहिले ६ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । अझैं पुलिसका ३ खेल बाँकी छन् । यसगरी मधेस प्रदेश १० अंकसहित तेस्रो स्थानमा रहेको छ । उसको पनि एक खेल बाँकी छ । चौथो स्थानमा त्रिभुवन आर्मी क्लब ६ खेलबाट ८ अंकका साथ रहेको छ । पाँचौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशको पनि ८ अंक रहेको छ । यसैगरी एपीएफ र कर्णाली ६–६ अंकका साथ तालिकाको छैटौं र सातौं स्थानमा रहँदा गण्डकी प्रदेश ४ अंक जोडेर तालिकाको आठौ स्थानमा छ ।
२ अंकमात्रै बनाएको लुम्बिनी नवौं र अंक नै जोड्न नसकेको कोशी प्रदेश पुछारमा रहेको छ । तालिकाको शीर्ष ४ मा अटाउने टिमले चैत बैशाखमा एलिट ट्रफीका लागि प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको क्यालेन्डरमै उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया