काठमाडौं । कोटेश्वर, चावाहिल, कालीमाटी, केसरमहल, थापाथली जस्ता राजधानीका सबैभन्दा बढी जाम हुने सडकमा एकजना व्यक्ति ट्राफिकको ज्याकेट, हातमा सेतो पञ्जा र ह्याट लगाएर सिठी फुक्दै, इसारा दिँदै यताउता दगुरिरहेका हुन्छन् । उनलाई हेर्दा मनले एउटै कुरा भन्छ ‘डेडिकेसन’ होस् त यस्तो ।
४६ वर्षीय शेखरलाई ट्राफिक प्रहरी भन्दा बढी हतार हुन्छ जाम हटाउन । त्यसैले उनीहरुभन्दा बढी सक्रिय पनि शेखर नै देखिन्छन् । ११ वर्षदेखि यसरी नै ट्राफिक प्रहरीको काम गर्दै आएका शेखर राई प्रहरी भने होइनन् । स्वयम्सेवक प्रहरी हुन् । १ दशकभन्दा लामो यस यात्रामा उनले नेपाल सरकारबाट एक सुको पैसा नलिएको बताए ।
‘के मिल्छ यसरी अहोरात्र खटिएर ?’ हामीले सोध्यौं
‘खुसी ।’
दुई अक्षरको उत्तरमा उनले आफ्नो जीवन अँटाए । त्यही जीवन जसमा खुसी खोज्न उनी मोरङदेखि ब्रुनइसम्म पुगेका थिए । वैदेशिक रोजगारीको सिलसिलामा । त्यसपछि फर्किएर आफ्नै देशमा केही गर्ने उद्देश्यले काठमाडौं आइपुगे ।
वि सं २०५४ सालमा काठमाडौं आइपुगेका उनले होटल व्यवसायमा हात हाले । अहिले उनको परिवार त्यही व्यवसायमा संलग्न छ । यता शेखर भने ५०–५० गर्दै आफ्नो समय व्यवसाय र ट्राफिक व्यवस्थापनलाई दिइरहेका छन् । सामान्य तरिकाले जीवन चलाउन आफ्नै व्यवसायले पुग्ने भएकाले ट्राफिक व्यवस्थापन गरेवापत अहिलेसम्म पैसा नलिएको बताउँछन् शेखर ।
‘आम्दानीका लागि सानोतिनो व्यवसाय छ,’ शेखर भन्छन्, ‘ट्राफिक व्यवस्थापन पैसाको लागि गरेको होइन ।’
सबैले आफ्नो जागिर, व्यवसायबाहेक थोरै समय यसरी सेवामा बिताउने हो भने सरकारको मुखाग्र भएको ‘समृद्धि’ साँच्चै नै सम्भव भएको बताउँछन् शेखर ।
‘सम्भव छ आजकलको जमानामा निःस्वार्थ सेवा गर्न ?’ कसैले यस्तो सोधे भनौंला, ‘छ नि ! नपत्याए शेखरलाई हेर्नुहोस् ।’
यस्ता लगनशील शेखरको निःस्वार्थ सेवा हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया