काठमाडौं । सानो पर्दाको सबैभन्दा चर्चित रियालिटी शो ‘बिग बोस’ को १७औँ सिजन अब अन्तिम चरणमा पुगेको छ । हरेक सिजन झै यो सिजनले पनि दर्शकहरुलाई निकै मनोरञ्जन दिइरहेको छ ।
बिग बोसमा शोका प्रतियोगीहरूको विवादको बारेमा जति चर्चा हुन्छ, त्यति नै उनीहरू र शोका सञ्चालक सलमान खानले लिएको पारिश्रमिकको पनि चर्चा हुन्छ । बिग बोसको हरेक सिजनसँगै सलमान खानको पारिश्रमिक पनि बढ्दै गएको छ । जब उनले यो शो होस्ट गर्न थाले, उनले प्रति एपिसोड २.५ करोड भारु लिए, जुन हरेक वर्ष बढ्दै गए, तर के तपाईलाई थाहा छ सलमान खानले सिजन १७ को लागि कति पारिश्रमिक लिइरहेका छन् ? थाहा पाउँदा छक्क पर्नुहुनेछ ।
सलमान खानले सन् २०१० मा ‘बिग बोस’ होस्ट गर्न थालेका थिए । उनी बिग बोसको चौँथो सिजनबाट यस रियालिटी शोको हिस्सा बनेका थिए र त्यसपछि सलमान खानले यसको १३ सिजन होस्ट गरेका छन्। हरेक सिजनसँगै सलमान खानको पारिश्रमिक बढ्दै गएको छ । मिडिया रिपोर्टका अनुसार सलमानले ‘बिग बोस ४’ को एक एपिसोडका लागि २.५ करोड भारु लिएका थिए ।
सिजन ६ सम्म सलमान खानको पारिश्रमिक उस्तै रह्यो तर सातौं सिजनमा सलमानको पारिश्रमिक दोब्बर भयो । सातै सिजन होस्ट गर्न सलमानले प्रति एपिसोड ५ करोड भारु लिएका थिए । यसपछि बिग बोसको हरेक सिजनमा सलमान खानको पारिश्रमिक बढेको छ । मिडिया रिपोर्टका अनुसार सलमान खानले सिजन ८ मा ५.५० करोड, सिजन ९ मा ७ करोड र बिग बोस १० मा ८ करोड भारु लिएका थिए ।
भनिन्छ बिग बोस ११ का लागि सलमान खानले सानो पर्दाको कुनै पनि शोका लागि लिने शुल्कका सबै रेकर्ड तोडेका थिए । सलमानले सिजन ११ को लागि ११ करोड भारुको रेकर्ड शुल्क लिए, त्यसपछि उनले बिग बोस १२ को लागि प्रति एपिसोड १२ देखि १४ करोड रुपैयाँ लिए। सिजन १३ मा यो संख्या १५ करोड ५० लाख पार भयो। त्यसैगरी बिग बोस १४ मा सलमानले प्रति एपिसोड २० करोड भारुको रेकर्ड पारिश्रमिक लिएका थिए ।
मिडिया रिपोर्टका अनुसार सलमान खानले बिग बोस सिजन १५ को लागि ३५० करोड भारु लिएका छन् भने बिग बोस १६ को लागि सलमान खानले लिएको पारिश्रमिक कुनै पनि कलाकारलाई एक सिजनका लागि दिइएको अहिलेसम्मकै सबैभन्दा बढी रकम हो । पूरै सिजन १६ मा सलमानले १ हजार करोडभन्दा बढी पारिश्रमिक लिएको बताइएको छ । तर, यसको आधिकारिक पुष्टि भने भएको छैन ।
यस्तै, मिडिया रिपोर्टकै अनुसार सलमानले सिजन १७ का लागि १२ सय करोड भारु लिएको चर्चा छ, यद्यपि यसको पनि आधिकारिक पुष्टि भने भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया