श्रीलंका पुलिसको लापरवाही : निर्दोष युवतीलाई ‘वान्टेड’ भनेपछि माग्यो माफी

एजेन्सी । अमेरिकामा बस्ने अमारा मजदि एक मुस्लिम एक्टिभिस्ट हुन् । संसारभरका मुस्लिमलाई हेरिने दृष्टिकोणलाई बदल्ने उद्देश्यले उनले ‘दि फरेनर्स’ नामक एक पुस्तक पनि लेखेकी छिन् । 

हालै उनको जीवनमा एउटा यस्तो घटना भयो जसकारण उनी निकै तनावमा छिन् ।

श्रीलंका पुलिस र सरकारले उनलाई कोलम्बोमा भएको आत्मघाती बमविस्फोटमा संलग्न इस्लामिक स्टेटसँग आवद्ध भएको खुलासा गरेको गरेको छ ।

जब अमारासम्म यो खबर पुग्यो उनले आफ्नो ट्वीटरमार्फत् ट्वीट गरिन्, ‘आज बिहानै मलाई थाहा भयो कि श्रीलंका सरकारले गलत तरिकाले इस्टरका दिन भएको हमलामा संलग्न शंकास्पद व्यक्तिहरुको सूचीमा इस्लामिक स्टेटसँग आवद्ध भएको भन्दै मेरो नाम पनि पहिचान गरेको रहेछ । क्या बिहान रह्यो यो ।’ 

अमाराले लेखेकी छिन्, ‘यो कुरा झुठ हो र गलत पनि । खासमा हाम्रो समुदाय पहिलादेखि नै कडा निगरानीसँग जुझ्दै आएको छ । मलाई अरु झूठो आरोप र अनुसन्धानको आवश्यकता छैन । कृपया मलाई यस्तो भयानक हमलासँग जोड्न बन्द गर्नुहोस् र अर्को पटक यस्तो सूचना जार िगर्नुभन्दा अगाडि अलि बढी मिहिनेत गरियोस् किनकी यस्ता अफवाहबाट कसैको परिवार र समुदायमा नराम्रो प्रभाव पर्न सक्छ ।’

अमाराको ट्वीटपछि श्रीलंका पुलिसले एक विज्ञप्ति जारी गर्दै उनीसँग माफी मागेको छ र भनेको छ , ‘यस तस्वीरमा देखाइएको महिला वान्टेड होइनन् ।’

हिजाब मिसन र ट्रम्पलाई चिठ्ठी

अमारा १६ वर्षको हुँदा त्यसवेला चर्चामा आएकी थिइन् जब उनले ‘दि हिजाब’ प्रोजेक्टको शुरुवात गरेकी थिइन् । यस प्राजेक्ट अन्तर्गत उनले मुस्लिम र गैरमुस्लिम महिलालाई हिजाब लगाउन र त्यसको अनुभव सामाजिक सञ्जालमा शेयर गर्न भनेकी थिइन् ।

अमाराले अमेरिकाको चुनावताका डोनाल्ड ट्रम्पलाई खुल्लापत्र पनि लेखेकी थिइन् । उनले चिठ्ठीमा भनेकी थिइन्, ‘मैले आफ्नो जीवनको मिसन बनाइसकेको छु कि तपाईजस्तो मान्छेले फैलाएको घृणाको अन्त्य गरेर मुस्लिमविरुद्ध व्याप्त पुरानो सोचलाई चुनौती दिनेछु ।’

अमारा सन् २०१५ मा बिबिसीले हरेक वर्ष निकाल्ने #100women नामक सूचीमा समेत पर्न सफल भएकी थिइन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा ‘इस्टर’को दिन अलगअलग चर्च र होटलहरुमा बमविस्फोट भएको थियो । हमलामा करिब २ सय ५० जनाले ज्यान गुमाएका थिए ।

(बिबिसी हिन्दीबाट)
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?