अनिषा खत्री
हरेक वर्ष माघ १५ गते नेपालमा नर्सिङ दिवस मनाइन्छ । नर्सहरुको हक, हित र सुरक्षाका उदेश्यले २०१८ साल माघ १५ गते नर्सिङ संघको स्थापना गरिएको थियो । सोही दिनलाई नै नेपालमा नर्सिङको दिवसको रुपमा मनाउन थालिएको हो ।
यही दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आइएकामा यस वर्ष पनि नर्सिङ दिवस मनाइँदैछ । तर नर्सिङ दिवस मनाउँदै गर्दा नेपालबाट स्टाफ नर्सहरुको पलायन मात्रै भएको छैन, नेपालमै बसेर सेवा गर्छु भन्दा पनि न्युनतम तलबसमेत पाउन सकिरहेका छैनन् । नेपालका निजी अस्पताल वा क्लिनिकहरुले स्टाफ नर्सहरुको श्रम शोषण गरिरहेको त्यस्ता अस्पतालहरुमा काम गरिरहेका नर्सहरुको गुनासो छ ।
नेपाल सरकारले तोकेको स्टाफ नर्सको न्युनतम तलबमान ३४ हजार ७३० रुपैयाँ हो । त्यसमा ग्रेड बढ्दै जाँदा अधिकतम ६ ग्रेडसम्म बढ्ने र बढुवा हुने व्यवस्था पनि छ ।
नेपाल सरकारले स्टाफ नर्सका लागि न्युनतम ३४ हजार ७३० रुपैयाँ तलब तोकेको भएपनि अधिकांश निजी अस्पताल, क्लिनिक र पोलिक्लिनिकहरुमा काम गर्ने स्टाफ नर्सको तलब भने १५ देखि २० हजारको हाराहारीमा मात्रै छ । अधिकांश निजी अस्पतालहरुले काम जानेको स्टाफ नर्सलाई सुरुमा १५ हजार र करिब ६ महिना काम गरिसकेपछि मात्रै १८ देखि २० हजार रुपैयाँ दिने गरेका छन् ।
कतिपय अस्पतालहरुले नर्सिङ पढेर नर्सिङ काउन्सिलको परीक्षा समेत पास गरिसकेकालाई पनि ३ महिना भोलिण्टियरमा काम लगाएको पाइएको छ ।
महङ्गो शिक्षा, सस्तो श्रम
अहिले सिटिइभीटी अन्तरगतका कलेजहरुमा पिसिएल नर्सिङ पढ्ने हो भने पढाईका लागि मात्रै करिब ६ लाख खर्च हुने गरेको छ । सिटिइभीटीले नर्सिङ अध्ययनका लागि शुल्क मात्रै ४ लाख ७५ हजार तोकेको छ भने लाइब्रेरी, परीक्षा, प्रयोगात्मक शुल्क आदि गरेर करिब ६ लाख रुपैयाँ खर्च हुन्छ ।
त्यसबाहेक यस्ता नर्सिङ कलेजहरु शहरी क्षेत्रमा मात्रै हुने भएकाले काठमाडौं, चितवन जस्ता शहरमा कोठा भाडामा वा होस्टलमा बसेर पढ्नुपर्ने भएमा ३ वर्षका लागि औसतमा ५ लाख खर्च हुन्छ । यसरी हेर्दा ३ वर्षको नर्सिङ अध्ययनका लागि औसतमा ११ लाख रुपैयाँ खर्च हुन्छ ।
तर ११ लाख खर्च गरेर नर्सिङ पढेकाहरुले काम गर्दा पाउने तलब भने औसतमा १५ हजार रुपैयाँ छ । नेपाल सरकारले सबै नर्सलाई रोजगारी दिन सकेको छैन । त्यसबाहेक नेपालका लागि कति नर्सको आवश्यकता हो भन्ने पनि कुनै सोध वा खोज छैन । त्यसकारण माग र आपूर्तिको सन्तुलन समेत नमिल्दा स्टाफ नर्सहरु सस्तोमै आफ्नो श्रम बेच्न बाध्य छन् ।
नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्क अनुसार हाल नेपालमा ७८ हजार ९४८ नर्सहरु दर्ता भएका छन् । दर्ता भएका नर्सहरुमध्ये सरकारी अस्पतालमा करिब २२ हजार नर्स कार्यरत छन् । निजी स्वास्थ्य संस्थाहरुमा कति नर्सहरुले काम गरिरहेका छन् वा अन्य नर्सहरु कहाँ के गरिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग मात्र होइन कुनै निकायसँग समेत छैन । यसको तथ्यांक राख्ने नेपाल नर्सिङ काउन्सिल वा नेपाल नर्सिङ संघसँग समेत छैन । दर्ता भएका कुल ७८ हजार ९४८ नर्समध्ये २८ हजार ४०५ जना नर्सले मात्रै नवीकरण गराएका छन् ।
श्रम शोषण त कुरै नगरौं
सामाखुसीमा रहेको एक निजी अस्पतालमा कार्यरत सीमा सुवेदी (नाम परिवर्तन)का अनुसार उनलाई दैनिक ८ घण्टा र नाइट ड्युटी भएको दिन १२ घण्टा काम लगाउँछ । सातामा एक दिन बिदाबाहेक अन्य कुनै बिदा दिइँदैन । तर तलब भने जम्मा १७ हजार दिइएको छ । उनले भनिन्, ‘भयो, श्रम शोषणको त कुनै नगरौं । सुरुमा त मलाई १४ हजार दिइएको थियो । त्यसपछि दुई महिनापछि १५ हजार दिइयो र १ वर्ष काम गरेपछि १७ हजार दिन थालेको छ । त्यो पैसाले मेरो जाने आउने र खाजा खर्चमै ठीक हुन्छ । अन्य अस्पतालमा पनि जागिरका लागि कोशिस गरेको हो, तर त्यता पनि तलब उस्तै हो भन्छ । त्यही भएर म त बाहिर जाने कोशिस गरिरहेको छु । अमेरिका, अष्ट्रेलियातिर पाइएन भने दुबई भएपनि जाने सोचमा छु ।’
पारिश्रमिक चित्तबुझ्दो छैन
नेपाल अर्थोपेडिक अस्पतालमा कार्यरत अर्की नर्स सपना शर्मा (नाम परिवर्तन) को पनि गुनासो त्यस्तै छ । धेरै खर्च गरेर पढेपनि सेवा, सुविधा राम्रो नभएको उनको गुनासो छ ।
उनी भन्छिन्, ‘नेपालमा नर्सिङ पेशामा पारिश्रमिक त्यति चित्त बुझ्दो छैन । म काम गरेको अस्पतालले त बरु ठीकै तलब दिन्छ, अरु प्राइभेट अस्पतालको त बिजोग नै छ ।’
मासिक ३० हजार तलबमा काम गरिरहेकी उनी चाडपर्व खर्च भने निकै थोरै दिने गरेको गुनासो गर्छिन् । दैनिक ८ घण्टा काम गर्नुपर्ने र काममा सँधै ब्यस्त रहनुपर्ने उनको गुनासो छ । उनको सोच पनि विदेश जाने नै रहेको छ ।
काठमाडौं बाहिर त राम्रै रहेछ
दोलखा हस्पिटलमा काम गरिरहेकी नर्स अनु खत्री (नाम परिवर्तन) तलबको हिसाबले काठमाडौंभन्दा काठमाडौं बाहिर राम्रो रहेको बताउँछिन् । उनी भन्छिन्, ‘पहिले मैले काठमाडौं आसपासका धेरै अस्पतालहरुमा काम गरें, तर कुनैपनि अस्पतालले नर्सलाई दिनुपर्ने न्युनतम तलब दिएका थिएनन् । त्यही भएर म तलबकै लागि भनेर काठमाडौं बाहिर आएर काम गरिरहेको छु ।’
उनले थप भनिन्, ‘अहिले म दोलखा अस्पतालमा मासिक ५५ हजार तलबमा काम गरिरहेको छु । तलब पनि समयमा नै दिने गरेका छन् । सेवासुविधा पनि राम्रै छ र साप्ताहिक बिदा तथा चाडपर्व विदा पनि पाइरहेकै छु । तर अन्य अवसर वा सिक्ने कुराहरु पनि छैन ।’
सरकारी अस्पतालमा पनि छैन समान तलब
वीर अस्पतालमा कार्यरत नर्स सुस्मा सेडाई (नाम परिवर्तन) का अनुसार एउटै अस्पतालमा काम गर्ने नर्सहरुमा पनि समान तलब छैन । वीर अस्पतालमा उनी करार सेवामा काम गर्छिन् । काम गरेको पनि करिब ४ वर्ष भयो । सातमा ४० देखि ५० घण्टा काम गर्नुपर्ने उनको तलब २० हजार रुपैयाँभन्दा केही बढी मात्रै रहेको छ । तलब समयमै आउने भएपनि समान काम र समान हैसियत भएपनि स्थायी र करारको नाममा कम तलबमै काम गर्नु परिरहेको उनको गुनासो छ ।
हप्तामा दिइने नियमित बिदा बाहेक कुनै–कुनै सरकारी बिदा मात्रै पाउने गरेकी छिन् । सोफिया पनि नेपालमा नर्समाथि श्रम शोषण हुने गरेको र राम्रो सेवा सुविधा नपाएको कारण विदेश जाने सोच बनाइरहेकी छिन् । विदेश जानको लागि तयारी गर्दै गरेकी सोफिया भन्छिन्, ‘बाहिर जानु हाम्रो रहर होइन बाध्यता हो । नेपालमा नर्सिङ पेशालाई प्राथमिकतामै राखिएको छैन । जब यही क्षमताले बाहिर राम्रो गर्न सकिन्छ पनि अवसर किन गुमाउनु ?’
श्रम शोषणको समस्या
नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार शुक्ला खनाल स्टाफ नर्सहरुमाथि श्रम शोषण यथावत रहेको बताउँछिन् । निजी अस्पतालहरुले स्टाफ नर्सहरुलाई कम तलब दिने गरेको, भोलिण्टियरमा काम लगाउने गरेको, समयमै तलब नदिने गरेको र बढी समय काममा लगाउने गरेको लगायतका गुनासा आउने गरेको बताउँछिन् । पहिले आफू नेपाल नर्सिङ संघमा कार्यरत रहँदा भ्वाइलेसन र ह्यारेसमेण्टको पनि गुनासो आउने गरेको पनि उनले बताइन् ।
सरकारी अस्पताल वा स्वास्थ्य संस्थामा काम गर्नेहरुले तलबमा सन्तोषजनक नै पाएपनि अन्य सेवा र सुविधा पनि सन्तोषजनक नरहेको बताइन् । शुक्ला भन्छिन्, ‘तलबको हिसाबले सरकारको निकायमा काम गर्नेहरुले तोकेकै तलब पाउनुभएको छ । तैपनि उहाँहरुले आफ्नो लेभल अनुसारको यति समयमा प्रमोसन हुने भन्ने चाहि छैन । तर प्राइभेट अस्पतालमा काम गर्नेहरुको अवस्था त झनै दुखद छ । न त्यहाँ ग्रेड हुन्छ, न त्यहाँ यति वर्ष काम गरेपछि यस्तो हुने भन्ने नै छ । किनभने त्यहाँ ल्याडर सिस्टम नै छैन । प्राइभेटमा एउटा लेभल स्टाफ नर्सको छ, अर्को मेट्रोन छ । त्यो भन्दा बिचको ग्याप छ ।’
रजिष्ट्रार खनाल प्राइभेट अस्पतालहरुमा तलब अति नै थोरै दिने गरिएको स्वीकार गर्छिन् । अहिलेको तलबमान कस्तो छ त भन्न सक्दिन । तर पहिले म सिभिल अस्पतालमा काम गर्दाको केही अनुभव छ । त्यहाँ कतिपय स्टाफ नर्सहरु दैनिक ज्यालादारीमा काम गर्छु भनेर आउनेहरु थिए । एक बहिनी आएकी थिइन्, नर्भिकमा काम गरिरहेकी रहिछिन् । उनलाई मासिक १० हजारमा काममा लगाइएको रहेछ । तर सिभिलमा १५ हजार न्युनतम तलब थियो । उनीहरु दिदी र भाइ बस्ने रहेछन् । कोठा भाडा तिर्नुपर्ने, खानुपर्ने भाइको पढाइ खर्च सबै धान्नुपथ्र्यो । त्यो समस्या २०७५/०७६ सालमा पनि उस्तै थियो । एक स्टाफ नर्स बहिनी प्राइभेट अस्पतालले १० हजारभन्दा बढी तलब दिँदैन भनेर गुनासो गर्दै थिइन् । प्राइभेट अस्पतालको हकमा त्यो समस्या अहिलेपनि छ भन्ने सुनेको छु ।’
रजिष्ट्रार खनालका अनुसार अहिले काउन्सिलमा दर्ता भएकामध्ये आधाभन्दा बढी नर्सले नवीकरण गरेका छैनन् । ती नर्सहरु कहाँ के गर्दैछन्, त्यो पनि थाहा छैन । कतिपय नर्सहरु उमेर पुगेर रिटायर्ड लाइफमा हुनसक्ने भएपनि अन्य नर्सहरु कहाँ के गरिरहेका छन् भन्ने तथ्यांक आफूहरुसँग पनि नभएको खनालले बताइन् ।
खनाल भन्छिन्, ‘२०५९ सालदेखि २०८० को अहिलेसम्मको तथ्यांक हेर्ने हो भने ३८ हजार ५३९ जना नर्सहरुले विदेश जानका लागि भेरिफिकेसन फारम भरेका छन् । यसको मतलब अधिकांश त विदेश नै गए भन्ने पनि देखाउँछ ।’
दुई दशकमा ३८ हजारभन्दा बढी विदेश जान लालायित
नर्सिङ काउन्सिलको तथ्यांक अनुसार २०५९ सालदेखि २०८० को हालसम्मको तथ्यांक हेर्दा ३८ हजार ५३९ जनाले विदेश जानका लागि भेरिफिकेसन फारम भरेको पाइएको छ । सबैभन्दा बढी २०७९ सालमा ६ हजार ६०८ जनाले विदेश जानका लागि फारम भरेका छन् ।
देश अनुसार छुट्याउने हो भने अमेरिका जानका लागि सबैभन्दा बढी २२ हजार ११६ जनाले फारम भरेका छन् भने त्यसपछि अष्ट्रेलिया जान ११ हजार १५० जनाले फारम भरेका छन् । तेश्रो मुलुकका रुपमा युएईको दुबई जानका लागि २ हजार ६ सय जनाले फारम भरेको पाइएको छ ।
२०५९ सालमा विदेश जान भेरिफिकेसन लेटर लिने नर्सको संख्या जम्मा ११५ थियो भने हाल २०८० को हालसम्म ६ हजार १६३ जना पुगिसकेको छ । त्यसमा पनि सबै भन्दा धेरै अमेरिका, अस्टेलिया र युएई जाने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया