विराटनगर । संखुवासभाको खाँदबारीमा मृत फेला परेकी एक महिलाको हत्या गहना लुट्ने उद्देश्यले गरेको खुलासा भएको छ ।खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा माघ ६ गते स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरे मृत फेला परेकी थिइन् ।
उनले कानमा लगाएको सुनको गहना लुट्नका लागि हत्या भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो ।प्रहरीका अनुसार घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बञ्चरो र मृतकले प्रयोग गर्ने मोबाइल तथा मृतकले पैसा राख्न प्रयोग गरेको थैली फेला भेटिएको थियो ।
घटना शंकास्पद देखेपछि प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । त्यस क्रममा घटनामा संलग्न रहेको आशंकामा सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षका दिपेन राई भन्ने आकास राईलाई माघ ११ गते पक्राउ गरिएको थियो ।उनी केही महिनादेखि खाँदबारी तुम्लिङटार बजारक्षेत्रमा कोठा बहाल लिई ज्याला मजदुरी गर्दै आएका थिए ।
राईले घिमिरेलाई बञ्चरो प्रहार गरी हत्या गरेको र उनले कानमा लगाएको २ थान सुनको रिङ जस्तो देखिने धातु चोरी गरेको प्रहरीले जनाएको छ ।उक्त गहना धनकुटाको पाख्रीवास–४ बुद्धचोकमा रहेको रुपकला ज्वेलर्समा ४७ हजारमा बिक्री गरेको प्रहरीले पत्ता लगाएको थियो ।
संखुवासभा प्रहरीका सूचना समन्वय अधिकृत अशोककुमार जबेगुका अनुसार उक्त गहना बरामद गरिएको छ । गहना किनबेचमा संलग्न देवबहादुर र धनमायालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा राई तथा गहना किनबेचमा संलग्न अरु दुईजनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया