काठमाडौं । नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
थाइल्याण्डमा आज (आइतवार) भएको फाइनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।
गत संस्करणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटिन पुग्यो ।
मलेसियाको लागि वान महमद अजमले सर्वाधिक १६ रन बनाए । यस्तै महमद हाजिक आइमनले १८ र जिनेन्द्र मुरालेले १४ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
जित हात पार्न नेपालका बिशाल कुमार पटेलले ४ विकेट लिए भने दीपक बिहोराले ३ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर खेल्दै ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ रन, निखिल कुमार सिंहले १३ रन बनाए ।
मलेसियाका लागि सचिनु हित्तेजले ३ तथा जिनेन्द्र मुरालेले २ विकेट लिए । योसंगै नेपालले मलेसियालाई लगातार दुई खेलमा पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया