पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

लोकपथ
140
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई गोप्य सूचना चुहावट गरेको अभियोगमा १०–१० वर्षको जेल सजाय सुनाएको छ ।

आधिकारिक गोप्य ऐन अन्तर्गत गठित विशेष अदालतले दुवैलाई गोप्य सूचना चुहावट गरेको अभियोगमा दोषी ठहर गरेको हो । इमरान खान (७१ वर्ष) र शाह महमूद कुरैशी (६७ वर्ष) रावलपिंडीको अडियाला जेलमा रहेका छन्।

इमरान खान र शाह महमूद कुरैशी जेलबाटै अदालतमा उपस्थित भएका थिए।

इमरान खानको पार्टी पीटीआईले यो निर्णयको कडा आलोचना गरेको छ । पीटीआईले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानूनी टोलीले यो निर्णयलाई उच्च अदालतमा चुनौती दिने बताएको छ। मुद्दाको सुनुवाइमा सञ्चारमाध्यम वा सर्वसाधारणलाई सहभागी हुन नदिने र हतारमा फैसला सुनाएको पार्टीले आरोप लगाएको छ ।

पीटीआईले मार्च–अप्रिल २०२२ मा भएको घटनालाई कुनै पनि अदालतको सुनुवाइले परिवर्तन गर्न नसक्ने बताएको छ । साथै पार्टीले फागुन ८ गते हुने आमनिर्वाचनमा ‘वास्तविक स्वतन्त्रता’को पक्षमा मतदान गर्न जनतालाई अपिल समेत गरेको छ ।

गोप्य कागजात चुहावटको मामिला के हो ?

पाकिस्तान तहरीक ए–इन्साफ पार्टीका प्रमुख इमरान खान एक सार्वजनिक सभामा गोप्य कूटनीतिक कागजात सार्वजनिक गरेकोमा दोषी ठहर भएका छन्। यो घटना इमरान खानको प्रधानमन्त्रीको कार्यकालमा भएको हो ।

सार्वजनिक भएको कागजात अमेरिकास्थित पाकिस्तानी दूतावासले पठाएको हो । उक्त कागजात इमरान खानबाट बरामद नभएको बताइएको छ । गोप्य कागजात सार्वजनिक गर्दै इमरान खानले अमेरिकाको इशारमा आफ्नो सरकार ढाल्ने षड्यन्त्र रचिएको आरोप लगाएका थिए । यस घटनाको केही समयपछि, अप्रिल २०२२ मा, इमरान खानको सरकार अविश्वासको मत मार्फत सत्ताबाट हटाइयो। इमरान खान सत्ताबाट हटाइएपछि उनीविरुद्ध १५० भन्दा बढी मुद्दा दर्ता भएका छन् ।

इमरान खान विरुद्धको दोस्रो मुद्दामा पनि उनी दोषी ठहर भएका छन् । यसअघि ५ अगस्टमा इमरान खानलाई तोशाखाना मुद्दामा पनि दोषी ठहर गरिएको थियो । तोशाखाना मुद्दामा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?