भ्रष्टाचारको आरोपमा झारखण्डका मुख्यमन्त्री पक्राउ

लोकपथ
112
Shares

काठमाडौं । जमीन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन् । आदिबासी जनजाति समुदायको प्रतिनिधित्व गर्दै झारखण्ड मुक्ति मोर्चा पार्टीबाट मुख्यमन्त्री बनेको सोरेनलाई केन्द्र सरकार मातहत रहेको प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको हो । पक्राउ परेलगत्तै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

अधिकारीहरूले बुधबार दिनभर मुख्यमन्त्री सोरेनसँग उनको निवासमै पुगेर वयान लिएका थिए । सो प्रकरणमा उनी दोषी हुनसक्ने देखेपछि ईडीले उनलाई बुधबार राति नियन्त्रणमा लिएको हो । पक्राउ परेका मुख्यमन्त्री सोरेनले बुधबार राति नै राज्यपाल कहाँ पुगेर राजीनामा बुझाएका छन् ।ईडीले सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लंघनलगायत विषयमा छानबिन गर्दै आएको छ । राँचीमा रहेको भारतीय सैनिकमातहतको चार एकडभन्दा बढी जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको र त्यसमा मुख्यमन्त्री सोरेनको संलग्नता रहेको ईडीको आरोप छ ।

सो राज्यमा विपक्षमा रहेको भारतीय जनता पार्टीले जग्गा बिक्री प्रकरणमा मुख्यमन्त्री सोरेनलाई कारबाही गर्न माग गर्दै आएको थियो ।
ईडीले सोरेनलाई बयानका लागि प्रयास गरेपनि उनले अस्वीकार गर्दै आएका थिए । दुई दिनअगाडि उनको दिल्लीस्थित निवासमा ईडीले छापा मारेको थियो । त्यहाँबाट उनको ३६ लाख रुपैयाँ नगद र एउटा बीएमडब्ल्यु कार फेला पारेका थियो ।

सोरेनले राजीनामा दिएपछि झारखण्डमा नयाँ मुख्यमन्त्रीको खोजी सुरु भएको छ । उनको पार्टीले चम्पई सोरेनलाई विधायक दलको नयाँ नेता चयन गरेको छ । उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसको समर्थनमा मोर्चाले बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेश गरेको छ ।८१ सदस्यीय विधानसभामा झारखण्ड मुक्ति मोर्चाको २९ र भाजपाको २६ सदस्य छन् । त्यहाँ कांग्रेसको समर्थनमा सोरेन मुख्यमन्त्री थिए । पुनः मोर्चा र कांग्रेसकै गठबन्धनले सरकार बनाउने दाबी गरेको छ ।

ईडीले दिल्लीका मुख्यमन्त्री आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई पनि निगरानीमा राखेको छ । यसअघि ईडीले केजरीवाललाई पनि वयानका लागि बोलाएको थियो । तर केजरीवालले पनि बयानका लागि अस्वीकार गर्दै आएका छन् । उनीमाथि मदिरा बिक्रीको लाइसेन्समा भ्रष्टाचार गरेको आरोप लागेको छ । सो मुद्धामा ईडीले एक वर्ष अगाडि उक्त मुद्दामा केजरीवाल सरकारका उपमुख्यन्त्री मनीष सिसोदियालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?