छुट्टाछुट्टै स्थानबाट लागुपदार्थ र प्रतिबन्धित औषधिसहित ८ जना पक्राउ

लोकपथ
63
Shares

विराटनगर । छुट्टाछुट्टै स्थानबाट  लागुपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ ।  बिहीबार साँझ लागुऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी चौकी डाइनियाबाट खटिएको टोलीले मोरङको सुनवर्षी नगरपालिका–६ मा प्र–१–०२–००३ ह १२१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा गाँजा फेला पारेको थियो ।

अटोमा सवार मोरङको रतुवामाई नगरपालिका–१० का ५० वर्षीय महेन्द्र साह र ५० वर्षीया निरिसादेवी साहलाई पक्राउ गरेको हो । चालक ४५ वर्षीय लीलबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको छथर गाउँपालिका–५ की ४६ वर्षीया नर्बदा लिम्बुलाई विराटनगर–१५ बाट ११३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

यस्तै, उदयपुरको कटारी नगरपालिका–३ मा बा ४४ प ७८२७ नम्बर मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय करण लिम्बु र १९ वर्षीय विशाल तामाङलाई विभिन्न नामका लागुऔषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता, भपापाको बिर्तामोड नगरपालिका–३ का २२ वर्षीय कृष्णकुमार थापा र २३ वर्षीय अजय राजवंशीलाई १ ग्राम १७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान सुरु गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?