काठमाडौं । एक हजार ३ सयको बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २ सय ९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.७० बिन्दुले घटेर एक हजार २९८.६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ बिन्दुले घटेर २७९.१० मा पुगेको छ । कारोवार रकम पनि आइतवार, सोमवारको तुलनामा घटेको छ । अर्ब माथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ । कूल १ सय ७६ कम्पनीको २९ लाख ६७ हजार ३ सय ५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९ सय ३६ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकोमा दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । जलविद्युत् ४५.४९ र वित्त १.०३ बिन्दुले बढेको छ । बैंकिङ ९.८२, व्यापार ४.८२, होटल २४.८८, विकास बैंक २.७३, निर्जीवन बीमा २०५.३१, उत्पादन ५.३७, अन्य ६.९, लघुवित्त १८.०२ र जीवन बीमा २०१.८२ बिन्दुले घटेको छ ।
स्टकका अनुसार घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रु एक हजार २ सय ७१ मूल्यमा रु १६ करोड सात हजार २ सय ५८ बराबरको कारोवार भई शिर्ष स्थानमा रहेको छ ।
यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु नौ करोड ३१ लाख सात हजार १ सय ९८ मा कारोवार भई दोस्रो स्थानमा रह्यो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७९ लाख ११ हजार ४ सय ८९, कुमारी बैंक रु तीन करोड ७६ लाख ४८ हजार १ सय ७४, सानिमा माई हाइड्रोपावर रु तीन करोड ४० लाख एक हजार १ सय ६६, छिमेक लघुवित्त वित्तीय संस्था रु दुई करोड ९५ लाख सात हजार १ सय ४९ मूल्यमा कारोवार भई शिर्ष स्थानमा रहे ।
स्टकका अनुसार सानिमा माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले कमाए । यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ९.७१, यूनाइटेड मोदी ८.१८, रैराङ हाइड्रोपावर ६.५९, नेशनल हाइड्रोपावरका शेयरधनीले ५.८० प्रतिशतले कमाए तर रैराङ र नेशनल हाइड्रोपावरको शेयर भने रु १ सयभन्दा तल रहेको छ ।
यसैगरी राष्ट्रिय बीमा कम्पनी ५.८९, एशियन लाइफ इन्स्योरेन्स ४.९५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.५०, नेपाल इन्स्योरेन्स कम्पनी ३.८१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७८ प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया