काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित आज विश्व क्यान्सर दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले आइतबार देशभरि विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा क्यान्सरका कारण करिब एक करोड व्यक्तिको मृत्यु भएको छ । क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।
शरीरको कोष या कोशिकाहरूको समूहको अस्वभाविक बृद्धि हुनु क्यान्सर हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा रोगको उपचार गर्न सकिन्छ ।
डब्लुएचओका अनुसार अहिले सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा भने यसका रोगीहरूको संख्या कति भन्ने यकिन छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया