किसानलाई आलु रोप्न भ्याइनभ्याई

लोकपथ
203
Shares

रामेछाप । रामेछापको माथिल्लो भेगका किसान यतिबेला आलु रोप्न व्यस्त छन् । जिल्लाको उत्तरी भेगका किसानलाई अहिले आलु रोप्नको लागि बारी तयार गर्ने, मल बोक्ने तथा आलु रोप्ने कामले भ्याइ नभ्याई छ ।

‘अहिले सबै आलु रोप्ने मेलोमा छन्, बिहानदेखि साँझसम्म सबै बारीमा हुन्छन, कसैलाई पनि बोल्ने समेत फुर्सद छैन’, दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा शैलुङका अगुवा किसान दावासङबु शेर्पाले भने ।रामेछापको उत्तरी भेगका किसानको मुख्य उत्पादन नै आलु हो । रामेछापबाट वार्षिक करोडौँ रुपैंयाँको आलु निर्यात हुने गर्दछ ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डडुवा, गौश्वारा, दोरम्बालगायतका क्षेत्रमा आलु उत्पादन हुने गर्दछ । त्यस्तै उमाकुण्ड गाउँपालिकाको गुम्देल, कुभुकास्थली, प्रीति, गुप्तेश्वर, भुजीलगायताका क्षेत्रमा पनि आलु खेती हुने गरेको छ ।यसैगरी गोकुलगंगा गाउँपालिकाको चचुरे, ठोसे, रस्नालु तथा बेताली, नामाडी र फर्पुको माथिल्लो भागमा समेत व्यावसायिक रूपमा आलु खेती हुने गरेको छ । सो क्षेत्रको प्रमुख नगदेबालीको रूपमा रहेको आलु लगाउन किसान व्यस्त रहेका गोकुलगंगा गाउँपालिकाका पूर्वगाउँपालिका अध्यक्ष खड्ग सुनुवार बताउँछन् ।

सुनुवार आफैँ पनि व्यावसायिक किसान हुन् । स्थानीय किसानले उत्पादन गरेको आलुको बजारीकरणको लागि समेत सहयोग गर्दै आएका सुनुवार यति बेला आफू पनि आलु रोप्न व्यस्त रहेको बताउँछन् । ‘आलु रोप्ने क्रम जारी छ, यस वर्षको आलु रोप्ने काम अब अन्तिम अन्तिम हुन लाग्यो, सुनुवारले भने ।

किसानले अहिले लगाएको आलु असार, साउन महिनामा खन्ने गर्दछन् । रामेछापमा उत्पादन भएको आलु काठमाडौंका साथै मधेसका विभिन्न बजारमा बिक्री हुने गर्दछ ।लेकमा उत्पादन भएको आलु स्वादिलो र पोसिलो हुने भएकोले बजारमा उच्च माग छ । यस वर्ष किसानले आफूले उत्पादन गरेको आलु प्रतिकेजी ५० रुपैँयामा बारीबाट नै बिक्री गरे ।

किसानले उत्पादन गरेको आलु किन्न व्यापारीहरू बारीमा नै जाने र राम्रो भाउ पाउने भएपछि आलु खेती बिस्तार हुँदै गएको छ । अझ रामेछापको शैलुङमा नै रोजिटा जातको उन्नत आलुको बिउ उत्पादन भएपछि आलुको उत्पादनमा वृद्धि भएको छ । यसले किसानलाई आलु खेतीमा थप उत्प्रेरित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?