अमेरिकी विश्वविद्यालयमा गोली चल्दा दुईको मृत्यु

एजेन्सी । संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ । उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ ।

मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो । मङ्गलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार भएको बताइएको छ ।

विद्यार्थीहरु विदा हुने बेलामा अकस्मात उक्त क्याम्पसको इमर्जेन्सी सेवाबाट लुक्नु, भाग्नु, सुरक्षित हुनु भनी माइकिङ शुरु भएको थियो । त्यसपछि कलेज परिसरमा भागाभाग भएको थियो । स्थानीय इमर्जेन्सी सेवाले दुई जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन्  र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ ।

च्यार्लाेटको प्रहरी सेवाले आक्रमणकारीको पहिचान गरेको छ । सो विभागकाअनुसार गोली हान्ने व्यक्ति सो क्याम्पसको एकजना २२ वर्षीय विद्यार्थी रहेका बताइएको छ । उनको नाम त्रिस्तान एन्ड्रयु हो । आक्रमणकारीलाई थुनामा राखिएको छ । तर घटनाको बारेमा ती व्यक्तिले स्वीकार नगरेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?