झापा । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे ।
कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक सबैभन्दा बढी हो । ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गरे ।
झापाली पत्रकारको सामाजिक सुरक्षा र दिगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै ढुंगानाले प्रशंसा गरेका छन् । झापा बिर्तामोड नगरपालिका–५ का स्थायी वासिन्दा ढुंगाना कनकाई एजुकेशन फाउण्डेशन र श्रीजय ड्रिमल्याण्ड पार्कका संस्थापक हुन् । ढुंगानाले शैक्षिक, सामाजिक, मानवीय र धार्मिक क्षेत्रमा विगत देखि नै योगदान गर्दै आएका छन् ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया