काठमाडौं । अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत नेपाल र क्यानडाबीचको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा क्यानडालाई नेपालले सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
टस जितेर पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा क्यानडाले ४७.५ ओभरमा २१७ रन बनाउँदै अल आउट भयो ।
क्यानडाले २८ रनका लागि आफ्ना अन्तिम ६ विकेट गुमाएको थियो ।खेलमा नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।
सिरिज अन्तर्गतको अर्को खेल शनिबार र अन्तिम खेल सोमबार हुनेछ । २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना खुलाएका थिए । त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया