अवैध हातहतियार नियन्त्रणमा सक्रिय प्रहरी : छ महिनामा १३४ जना पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–७ घर भएका सुलभ भन्ने सुरज श्रेष्ठ १ थान पेस्तोल, ४ राउण्ड गोली र म्याग्जिनसहित पक्राउ परे । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित उदयपुरका जंगे माझी पक्राउ परे ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पेस्तोल १ थान र गोली १ थानसहित बाजुराका देव बहादुर थापा र नवलपरासी पूर्वका वीर बहादुर थापा मगर पक्राउ परे ।

श्रेष्ठ, माझी, थापा र थापा मगर प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय प्रहरीले देशभरबाट यसैगरी सयौँको संख्या अवैध हातहतियारसहित गैरकानूनी गतिविधि गर्नेहरूलाई पक्राउ गरेको छ । अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा प्रहरीले सक्रियता बढाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै देशभर विभिन्न स्थानबाट अवैध हातहतियार सहित १ सय ३४ जना मानिस पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये पुरूष १ सय ३० जना र महिला ४ जना छन् । तीमध्ये ६ जना विदेशी नागरिकसमेत छन । सो अवधिमा काठमाडौं उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेश प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन् । साथै अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन् ।

अवैध हातहतियार नियन्त्रणमा प्रहरी सक्रियताको कारण विभिन्न व्यक्तिहरूलाई हतियारसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।प्रहरीको यस्तो अभियानले देशमा शान्ति सुरक्षा कायम राख्न सहज भएको उनको दाबी छ । ‘आम नागरिकले शान्ति सुरक्षा, अमन चयन कायम भएको महसुस गरेका छन्,’ प्रवक्ता ढकाल भन्छन्, ‘प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रण प्रभावकारी बनेको छ । सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ ।’

उनका अनुसार सो अवधिमा पेस्तोल ६ थान, रिभल्वर ४ थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एयर गन २ थान गरी जम्मा १ सय १६ थान अवैध हतियार बरामद भएको छ । सो अवधिमा पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली बरामद भएको छ ।

बरामदमध्ये काठमाडौं उपत्यकाबाट ७ थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेश प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली छन् । जसमा भरूवा बन्दुक र कटुवा पेस्तोलको संख्या अन्यको भन्दा बढी छ ।

तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिन्छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले देशभरिनै विशेष अभियान चलाएको प्रहरी नायव महानिरीक्षक ढकालले बताए ।

अभियानको प्रभावले आम नागरिकबाट सूचना प्राप्त गर्न सहज भएको र यसबाट अवैध हातहतियार नियन्त्रण गर्न प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ । नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान एवम् कारवाही हुने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?