रुकुम । रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन् भने दुईवटा ठूला आयोजनाको काम पनि भइरहेको छ ।
गाउँलाई उज्यालो बनाउने योजनासहित यस खोलामा करोडांै बजेट लगानी गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । बागलुङ र रुकुमपूर्वको सीमा भूमे–१ लुकुम गाउँलाई शिर बनाएर बग्ने यस खोलामा मात्रै पाँच वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् ।
गाउँपालिका अध्यक्ष बुढाका अनुशार भूमे गाउँपालिका–१ काँक्रीमा ८५ किलोवाट, वडा नं–२ त्रिवेणीमा ४५ किलोवाट, वडा नं–३ क्याङ्सीमा ३५ किलोवाट, –५ सिसाघारीमा १ सय ३५ किलोवाट र वडा नं–५ सेरावाङमा–५ किलोवाट गरी जम्मा ३ सय ५ किलोवाट विद्युत् उत्पादन भएको छ ।
उक्त गाउँपालिकाअन्तर्गतका कतिपय ठाउँ अन्धकार नै छन् । सबै नागरिकले बत्तीको उज्यालो पाउन सकिरहेका छैनन् । नागरिकको आवश्यकतालाई परिपूर्ति गर्दै गाउँपालिकाको सबै ठाउँमा विद्युत् विस्तार गरिने अध्यक्ष बुढामगरले बताए ।
लुकुम खोलामा गाउँपालिकाले मेघा प्रोजेक्ट सञ्चालन गर्ने गरी पूर्व सम्भाव्यता अध्यनको कामलाई अगाडि बढाइसकेको र विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ को काम अगाडि बढाउने तयारी भइरहेको अध्यक्ष बुढामगरले बताए ।
‘‘लुकुम खोलाबाटै हामी ठूला आयोजना सञ्चालनमा ल्याएर अध्यारोमुक्त जिल्ला बनाउने लक्ष लिएका छौँ’’, अध्यक्ष बुढामगरले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया