काठमाडौं । हंगेरीकी राष्ट्रपतिले आफ्नो पदबाट राजीनामा दिएकी छन् । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीका राष्ट्रपति क्याटालिन नोभाकले राजीनामा दिएकी हुन् । क्याटालिन नोभाकले शनिबार राजीनामाको घोषणा गरेकी हुन् ।
४६ वर्षीया क्याटालिन नोभाकले आफूले गल्ती गरेको भन्दै राष्ट्रपति पदबाट राजीनामा दिने निर्णय गरेको बताएकी छन् । नोभाकले भनिन्, ‘मेरो निर्णयबाट पीडित सबैसँग म माफी चाहन्छु । म सधैं बालबालिका र परिवारको सुरक्षाको पक्षमा छु र रहनेछु।’
क्याटालिन नोभाकले बालगृहका पूर्व उपनिर्देशकको सजाय माफ गरेकि थिइन् । बालगृहका बालबालिकालाई आफ्नै हाकिमले यौन दुर्व्यवहार गरेको अपराध लुकाएको अभियोगमा उपनिर्देशक दोषी ठहर भएका छन् । पोप फ्रान्सिसले गत वर्ष अप्रिलमा बुडापेस्टको भ्रमण गरेका थिए। सोही अवधिमा राष्ट्रपति हुँदा क्याटालिन नोभाकले बाल गृहका उपनिर्देशकको सजाय माफी दिएकी थिइन् । गत हप्ता सञ्चारमाध्यमले यो कुरा सार्वजनिक गरेपछि मानिसहरू आक्रोशित भए। विपक्षीहरुले क्याटालिन नोभाकको राजिनामाको माग गर्दै विरोध प्रदर्शन गर्न थालेका छन् । बढ्दो विरोधका कारण क्याटालिन नोभाकले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।
कानुनमन्त्रीले पनि राजीनामा दिए
क्याटालिन नोभाक कतारमा भएको वर्ल्ड वाटर पोलो च्याम्पियनसिप खेल हेर्न कतार गएकी थिइन् । विरोध बढ्दै गएपछि उनी तुरुन्तै बुडापेस्ट फर्किइन् हंगेरी फर्कने बित्तिकै उनले राजीनामाको घोषणा गरिन्। राष्ट्रपतिको राजीनामा लगत्तै हंगेरीका कानुनमन्त्री जुडित वर्गाले पनि राजीनामा दिएका छन् ।
न्यायाधीशले नै दोषीलाई माफी दिएका थिए । तर, विपक्षी भने यस विषयमा प्रधानमन्त्री भिक्टर ओर्बेनको राजीनामाको मागमा अडिग छन् । देशमा सरकारको बढ्दो विरोधलाई शान्त पार्न, प्रधानमन्त्री ओर्बानले हालै संविधानमा बाल यौन दुर्व्यवहारको दोषीलाई माफीको प्रावधानको पुन: समीक्षा गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया