काठमाडौं । बैंकिङ् कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पनौती -६ घर भएका ६७ वर्षीय राम भक्त थापा रहेका छन् ।
फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी थापाले काभ्रे ब्रोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू तयार गरी आठ करोड पचास लाख रुपैयाँ कर्जा लिएका थिए । उनले सो कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई नौ करोड सात लाख छ हजार तीन सय अठहत्तर रुपैयाँ चौहत्तर पैसा बराबर हिनामिना गरेकाे आराेपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले मिति २०७१/०१/२९ गतेको फैसलाले प्रतिवादी थापालाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को दफा १५(२)(घ) बमोजिम तीन वर्ष कैद र विगो असूल गरी विगो बमोजिम जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि फरार रहेका थापालाई लाजिम्पाटबाट खटीएको प्रहरी टोलिले गत शुक्रबार कोटेश्वर, काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया