काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
प्रतियोगिताबाट बाहिरिएसँगै नेपालले एसिया कप क्रिकेटमा छनोट हुने अवसर पनि गुमाएको छ । नेपाल अपराजित रहदै सेमीफाइनल प्रवेश गरेको थियो । तर सेमिफाइनलमा खेलमा मलेसियासँग हार व्यहोरेपछि नेपालको एसिया कपमा छनोट हुने सपना समाप्त भएको छ ।
जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेपालले कसिलो बलिङ गरेको भए पनि एल्सा हन्टर सामु फितलो देखिएपछि पराजयको सामना गर्नुपर्यो । हन्टरले ५३ बलमा अविजित रहँदै ६९ रन बनाइन् । हन्टरलाई रोक्न नसक्नु नै नेपालको हारको कारण बन्यो । अन्तिम ओभरमा ११ रन बनाएसँगै मलेसिया विजयी भयो । कविता जोशी र सीता रानामगरले समान २ तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासीले समान १ विकेट लिए ।
यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनायो । कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रबिना क्षेत्री बेल्बासीले २० रन बनाइन् । मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिइन् । तीन खेलाडी रनआउट भए ।
जितसँगै मलेसियाले फाइनलमा आइतबार यूएईसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया