पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छे हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ ।
यसका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ । माछापुच्छे हिमालको फेदी ‘मर्दी हिमाल नजिकै’को लान्द्रुक बनबाट पानी ल्याउने गरी गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्ने योजना प्रस्ताव गरेको हो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषकान्त पौडेलका अनुसार बस्तीबाट झण्डै नौ किमि टाढा रहेको लान्द्रुक वनबाट खानेपानी ल्याउन लागिएको हो । गाउँपालिकाले सम्भाव्यता अध्ययन गरी सङ्घीय खानेपानी तथा सरसफाइ मन्त्रालयमा योजना प्रस्ताव गरिसकेको उनले जानकारी दिए ।
“अन्नपूर्ण गाउँपालिकाका– १ देखि ७ सम्मका साथै पोखरा महानगरपालिका– २६ कास्कीकोटका बासिन्दालाई समेत खानेपानी पु-याउने गरी योजना प्रस्ताव गरिएको छ”, उनले भने, “कूल ७७ करोड लागत अनुमान गरिएको सो योजना सम्पन्न भएसँगै गाउँपालिकाका सातवटै वडा र पोखरा महानगरपालिका–२६ कास्कीकोटका स्थानीयवासी खानेपानीमा आत्मनिर्भर बन्ने छन् ।”
समुद्री सतहबाट दुई हजार ६ सय मिटर उचाइको लान्द्रुक वनस्थित पानीको मुहानमा चैतको खडेरीमा समेत पर्याप्त पानी हुने गरेको अध्ययनका क्रममा पाइएको पौडेलले जानकारी दिए । मुहान रहेका स्थानमा तीन वटा ठूला-ठूला पानीका मुहान रहेको उहाँले जानकारी दिए ।
प्रस्तावित खानेपानी योजना मुहानदेखि सबैभन्दा टाढा नागडाँडासम्म ल्याइपु-याउन २६ किलोमिटर दूरी पार गर्नुपर्छ । बृहत् खानेपानी योजनाको प्रस्ताव गरेको गाउँपालिकाले यस आर्थिक वर्षमा विभिन्न वडामा अन्य साना खानेपानीका योजना पनि सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
“हामी गाउँपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लागेका छौँ”, उनले दिए । “पदयात्रा पर्यटन, दृश्यावलोकन आदिका प्रचुर सम्भावना बोकेको यस ठाउँलाई खानेपानीमा आत्मनिर्भर बनाउन सके यसले यहाँको पर्यटकीय विकासमा पनि उत्तिकै टेवा पु-याउनेछ ।”
चालू आवमा यहाँका एक हजार घरधुरीमा धारा पु-याउने लक्ष्यका साथ विभिन्न साना खानेपानी योजना सञ्चालनका क्रममा रहेको उनले जानकारी दिए । उनका अनुसार विभिन्न वडा एवं स्थान विशेषमा सञ्चालित साना योजनामा स्थानीय अवस्थाका आधारमा १० देखि २० प्रतिशत जनश्रमदानसहित वडाले खानेपानीका लागि लगभग तीन करोड छुट्याएको छ ।
चालू साना योजनामध्ये गाउँपालिका–१ को लेवाडेका साथै कुँवरगाउँ, नेपाली थर, भुवाइँ थर र फल्ला पानीलाई लक्षित गरी सञ्चालित खानेपानी योजना अन्तिम चरणमा पुगेको छ । त्यस्तै वडा नम्बर २ को सेराचौर, वडा नं ४ सल्यान, वडा नं ८ वीरठाँटी, वडा नं १० को सिमेमा सञ्चालित खानेपानी योजनाको निर्माण कार्य सकिएको छ ।
वडा नम्बर ३ को पाउँदुरकोट, दमदमे, भिरमुनि दलितबस्ती, वडा नं ५ को पुरानोगाउँ दलित बस्ती, वडा नं ९ को तिखेढुङ्गा र वडा नं ११ को छोम्रोङमा सञ्चालित खानेपानी योजना सकिने क्रममा छन् । वडा नम्बर ६ मा सङ्घीय बजेटअनुरुप नै सञ्चालित खानेपानी योजना निर्माणका क्रममा छ ।
सञ्चालित योजनामध्ये कतिपयको काम सकिसकेको र कतिपय सकिने क्रममा रहेका कारण बाँकी योजना आगामी जेठको पहिलो सातासम्म सक्ने गाउँपालिकाको लक्ष्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया