देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

लोकपथ
119
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

ललितपुरको बागमती गाउँपालिका-३ पाङदुर गहिरा खोलास्थित सडकमा काठमाडौँबाट मकवानपुरतर्फ जाँदै गरेको बा.२ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौँ महानगरपालिका-४ बालुवाटार बस्‍ने ५९ वर्षीय राजीव सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

उता चितवनको भरतपुर महानगरपालिका-१२ गोन्द्राङमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने सुनिता श्रेष्ठको छोरा ३ वर्षीय बिमर्स श्रेष्ठको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सल्याको बनगाड कुपिण्डे नगरपालिका-६ सुनौली बजारमा लु.८० प १४११ नम्बरको मोटरसाइकल र ना.६ ख २२५३ नम्बरको टेलर एकआपसमा ठक्कर खाई शुक्रबार बेलुका दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-५ बस्ने १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक र टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता रोल्पाको लुङ्ग्री गाउँपालिका-३ धनेखर्कमा लु.४ त ६१७ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका धापे बस्ने चन्द्र बहादुर खडकाको छोरा ६ वर्षीय सन्दिप खडकाको शुक्रबार बेलुकी मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर हुँदै थप उपचारको लागि बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सर्लाहीको बरहथवा नगरपालिका-९ सोल्टी गेट नजिक बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको ना.२ त ७५२५ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा चालक बारा पचरौत नगरपालिका-५ बस्ने ५० वर्षीय भुवन महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्यापी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?