विराटनगर । विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्समा मंगलबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।
बन्द अवस्थामा रहेको उक्त उद्योगमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागीबाट मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।
बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन ।
‘आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ ।’
विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा बुधबार राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया