इलाम । इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ ।
कर्वड हल अभावमा एक हजार २ सय भन्दा बढी कराँते खेलाडीले खुल्ला चौरमा प्रशिक्षण लिइ रहेका छन् । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ ।
सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ । एउटै कक्षमा कराँतेसँगै बक्सिङ, उसु, टेबल टेनिस, जुँडोका खेलाडीलाई प्रशिक्षण दिनुपर्छ । जिल्लामा विद्यालय, दोजो र क्लबमा आबद्ध एक हजार २ सय भन्दाबढी कराँते खेलाडी छन् ।
राष्ट्रिय खेलकुद परिषद्बाट खटाइएका चार स्वयंसेवक र १६ प्रशिक्षकले खुल्ला चौरमा खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन् । खेलाडी र प्रशिक्षकले तीन दशकदेखि सुविधासम्पन्न कवर्ड हलको माग गरिरहे पनि अहिलेसम्म पूरा नभएको कराँते प्रशिक्षक प्रदीप शैजुले बताए ।
विसं २०४४ बाट राष्ट्रिय खेलकूद परिषद्को सहयोगमा यहाँ कराँते खेल शुरु भएको थियो । तीस वर्षको अवधिमा यहाँ उत्पादन भएका खेलाडीमध्ये ५० ले राष्ट्रिय र ३० ले अन्तर्राष्ट्रिय प्रतियोगितामा कीर्तिमान कायम गरेर पदक जितेका छन् ।
एक सय भन्दाबढी स्थानीयस्तर, २८ जिल्लास्तरीय तथा क्षेत्रीय र सात अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमै सम्पन्न भएका थिए । यो वर्ष सम्पन्न भएको नेपाल, भारत, भूटान, बङ्गलादेश र दुबर्इका गरी ४ सय ५० खेलाडी सहभागी रहेको सातौँ अन्तर्राष्ट्रिय प्रतियोगिता चौरमै गर्नुपरेको कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङले बताए ।
खेलाडी र प्रशिक्षकको पहलमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सातौँ चरणको खेल पूरा गरिसकेका छौँ । उनले भने, ‘हामीले राम्रो कर्वड हल निर्माणका लागि जिल्लादेखि केन्द्रसम्म माग राखे पनि पूरा भएको छैन ।’
राइले भने, ‘सातौँ अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा विदेशी खेलाडीले पनि पानीमा भिज्दै खेल्नुप-यो, टिम कोच र प्रशिक्षक पनि खुला आकाशमा भिज्दै बस्दा नराम्रो लाग्छ ।’
खेलाडीको क्षमता प्रदर्शनका लागि कराँते खेलका प्रशिक्षक र खेलाडीको सक्रियतालाई साथ दिँदै सरकारले चाँडो सुविधासम्पन्न कर्वड हल बनाउनुपर्ने उनको भनाइ छ ।
सरकारले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकूदका कार्यक्रम ल्याए पनि ती कार्यक्रमले कराँते खेलमा कुनै सुधार नभएको कराँते खेलाडी विमोचना गुरुङले बताए ।
‘हामीले खेल्दामा पनि खुल्ला चौरमा खेल्नुपर्छ’, गुरुङले भने, ‘खेलाडीलाई प्रशिक्षण दिँदा पनि विद्यालयका चौर, चियाबारीको खुला क्षेत्र रोज्नुपर्ने बाध्यता छ ।’
स्थानीयस्तरका प्रतियोगिता मात्रै नभएर हरेक वर्ष आयोजना गरिँदै आइएका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि विदेशी खेलाडीसँग पानीमा भिज्दै खेल्नुपर्दा हामीलाई नराम्रो लागेको उनको भनाइ थियो । कराँतेमा स्थानीयस्तरका युवायुवतीको आकर्षण बढे पनि पूर्वाधार निर्माणका लागि स्थानीय सरकारले पनि चासो नदिएको खेलाडी तथा प्रशिक्षकको गुनासो थियो ।
हालै सम्पन्न भएको सातौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहयोग पु-याएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले कराँते खेलाडीको माग सम्बोधनका लागि पूर्वाधार निर्माणका लागि पहल गरिने बताए । सो खेलका लागि उक्त नगरपालिकामा जग्गा अभावले पूर्वाधार निर्माणको काम अड्किएको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया