काठमाडौं । चर्चित गजल गायक पंकज उधासको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ७२ वर्षीय पंकजको सोमबार निधन भएको हो । उनलाई आज अन्तिम बिदाइ गरिने भएको छ । पंकज उधासको पार्थिव शरीर उनको निवास पुगिसकेको र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न परिवारका सदस्य, आफन्तहरु र चिनजानका मानिसहरु पुगेका छन् ।
उनको निधनले भारतीय संगीत उद्योग मात्र नभएर विश्वभर नै उनको सम्झना गरिएको। पंकज उधासकी छोरी नायब उधासले पोस्ट सेयर गर्दै बुवाको अन्तिम संस्कार मंगलबार दिउँसो ३ देखि ५ बजे मुम्बईको वर्लीस्थित हिन्दू शवदाह गृहमा गरिने जानकारी दिएकी छिन् ।
पंकज उधासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनको परिवार राजकोट नजिकैको चरखाडी सहरको बासिन्दा थिए। उनका हजुरबुबा भावनगरका जमिन्दार र दीवान थिए। संगीत जगतमा उनको महत्वपूर्ण योगदान थियो । उनले चिठ्ठी आयी है, ना कजरे की धर, चाँदी जैसा रंग हे तेरा, आज फिर तुम्पे, और भला क्या माँगु मै रब से र एक तरफ उसका घर जस्ता धेरै लोकप्रिय र हिट गीतहरू गाए।
सोमबार पंकज उधासको निधनको खबर आएसँगै सोनु निगम, शंकर महादेवन र अनुप जलोटा लगायत धेरै गायक तथा कलाकारहरुले पंकज उधासलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गायकको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया