काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ ।
रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २ सय ७० मिटर लामो सुरुङ निर्माण गरेको हो । सन् २०१६ को जुन १३ मा सो सुरुङको काम शुरु गरिएको थियो ।
नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर बाँधतर्फबाट ९ सय २६ मिटर र आउटलेटबाट एक हजार ३ सय ४४ दशमलव पाँच मिटर सुरुङ निर्माण गरिएको आयोजनाका इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिए ।
उक्त आयोजनाको बाँध, विद्युत्गृह र पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरिएको र सो बाँधक लागि पहाडभित्र १ सय ३५ मिटर सुरुङ खनी पानीलाई ‘डाइभर्ट’ गराएर बाँध निर्माण गरिएको हो ।
मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी ‘क्यानल’ भूमिगत हो । पहाडभित्र १ सय १५ मिटर लम्बाइ, ८ दशमदब ५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ ।
आउटलेटदेखि बाँधसम्म एक हजार ५ सय मिटर लम्बाइ दुई मिटर गोलाइको पेनस्टक पाइप जडानकार्य ८० प्रतिशत सकिएको छ ।
आयोजनाले नारच्याङबेँसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन बेलिब्रिज निर्माण गरेको छ । पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको सो आयोजना स्वदेशी लगानीमै निर्माण हुन लागेको हो । विद्युत् विकास विभागले २०६४ मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणले २ सय २० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको बताइएको छ । म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये यो सबैभन्दा ठूलो आयोजना हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया