कोटेश्वर-कलङ्की सडक खण्डको आकाशे पुल निर्माणमा ढिलाइ

काठमाडौं । कोटेश्वर–कलङ्की सडक खण्डमा आकाशे पुलःनिर्माणमा ढिलाइ भएको छ । 

निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिए पनि अहिलेसम्म भौतिक प्रगति ज्यादै न्यून छ । 

यो सडकमा ६ स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । तीमध्ये तीन स्थानमा काम अघि बढे पनि तीन स्थानमा अघि बढ्न नसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । 

उनका अनुसार काम गर्ने स्थानमा अरु कुनै बाधा नभए पनि ठेकेदार आफैँले ढिलासुस्ती गरिरहेको हो । उनले भने, “अवधि सकिएको ५÷६ महीना हुनलाग्दासमेत जगको कामभन्दा अघि बढ्न सकेको छैन ।” सडक निर्माणका क्रममा चीन सरकारले निर्माण गरेको तीन वटा आकाशे पुल अपर्याप्त भए पनि सरकारले थप पुल निर्माण शुरु गरेको थियो । 

चीन सरकारले गत माघमा नै नेपाल सरकारलाई आठ लेनको यो सडक हस्तान्तरण गरेको थियो । त्यसभन्दा पहिले नै सरकारले थप छ स्थानमा आकाशे पुल निर्माण शुरु गरेको थियो । पुल निर्माण भएपछि झण्डै एकदेखि डेढकिलोमिटरको दूरीमा एउटा आकाशे पुल हुनेछ ।

 उनले भने, “नौ ठाउँमा आकाशे पुल भएपछि यात्रुलाई सडक काट्न सजिलो हुनेछ ।” सडक सुरक्षाका लागि सरकारले विभिन्न स्थानमा सडक चिह्न निर्माण गरिरहेको छ । सरकारले आठ लेन सडकको दायाँबायाँ गरेर दुबैतर्फ ‘सर्भिस ट्र्याक’ निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?